अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको ५ र ७ नम्बर वडाको बीचमा बहने बिरिङ नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

संघीय सांसद एवम् अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले झोलुङ्गे पुलको निर्माणस्थलमा पुगेर शिलान्यास गरिन् । स्थानीय समाजसेवी केदार पराजुलीको विशेष पहलमा झण्डै एक करोडको लागतमा एक वर्षभित्र पुल बनिसक्ने बताइएको छ । ठेकेदार युवराज डाँगीले वर्षायाम सुरु हुन अघि नै पुल निर्माण गरिसक्ने दाबी गरे ।

मोटरसाइकल चल्न सक्ने, एक पटकमा ३५० जनाको भार क्षमता भएको पुल निर्माण हुने भएपछि सांसद निरौलाले धेरै वर्षअघिको सपना पूरा भएको उल्लेख गरिन् । यसअघि नै स्थानीयको समस्या बुझे पनि योजना ल्याउन धेरै कठिनाइ व्यहोरेको पनि उनले बताइन् ।

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानामगरले स्थानीयको सहजताका लागि यो योजना ल्याइएको बताउँदै स्थानीयबासीको समृद्धिका लागि स्थानीय सरकार तत्पर रहेको उल्लेख गरे । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष ध्यानबहादुर भारतीले झोलुङ्गे पुल निर्माण र योजनाका बारेमा प्रस्ट्याएका थिए ।

बिरिङ नदीका कारण वर्षायाममा स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको थियो । नदीमाथि पुल नबन्दा स्थानीयले कम्तिमा ३ किलोमिटर घुमेर यात्रा गर्न बाध्य छन् ।