शनिश्चरे, झापा । विगत वर्षझैँ यसवर्ष पनि हात्तीपाइले रोगविरुद्ध फागुन महिनामा औषधि खुवाइने भएको छ । तर, यसपटक स्वास्थ्य स्वयम्सेविका भने परिचालन हुने छैनन् ।

अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार नगरस्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गर्दै त्यस्तो जानकारी दिएको हो । शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार यसपटक स्वयम्सेविकाको स्थानमा स्वास्थ्यकर्मी रहनेछन् । उनीहरुको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने शाखा प्रमुख बस्नेतले बताए ।

उनका अनुसार फागुन १५ गते तोकिएको स्थानबाट औषधि वितरण हुनेछ भने बाँकी ६ दिन घर घरमा पुगेर स्वास्थ्यकर्मीले औषधि खुवाउनेछन् । नगरमा ६३ हजार जनसंख्या रहेकोमा ८० प्रतिशतलाई औषधि खुवाउने स्वास्थ्य शाखाको लक्ष्य छ ।

सरकारले यसवर्ष मेचीका पाँचथर, इलाम र झापासँगै १५ जिल्लामा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन गरेको छ । सोहीअनुरुप शाखाले ३० जना स्वास्थ्यकर्मीलाई तालिम दिएर १९६ दिनमा २५ जनाले प्रत्यक्ष औषधि खुवाउने बस्नेतले जानकारी दिए ।

विगतका वर्षमा स्वयम्सेविका परिचालन गरिँदा रिपोर्टअनुसारको लक्ष्य प्राप्ति नभएकाले पनि यो नीति अघि सारिएको बताइएको छ । ‘स्वयम्सेविकाले पठाएको रिपोर्टमा ४० प्रतिशत झुटो पायौँ’, उनले भने । अर्जुनधारा नगरभित्रका १३० जनामा लिइएको नमूना परीक्षणमा ६ जनामा हात्तीपाइले रोग फेला परेको थियो ।

यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयले योजना तर्जुमा भए पनि स्वास्थ्य कार्यालय स्थानीय तहमा गएकाले नगरस्तरीय योजना तर्जुमा गरिएको शाखाका सहायक प्रमुख मिश्रीलाल शर्माले बताए । उनका अनुसार स्वास्थ्यकर्मी, वडास्तरीय, नगरस्तरीय र स्वयम्सेविकास्तरमा गोष्ठी सञ्चालन गरिनेछ ।