शनिश्चरे, झापा । ओपिडीमा डाक्टर नबसेका कारण झापाको अर्जुनधारा–९स्थित शनिश्चरे प्राथमिक स्वास्थ्य चौकीमा सेवा लिन पुग्ने सेवाग्राहीहरु नियमित तथा कार्यालय समयमै सेवा लिनबाट वञ्चित भएका छन् ।

सोमबार सञ्चारकर्मीहरुको टोली स्वास्थ्य चौकीमा पुग्दा प्रमुख डा. सुशिलाकुमारी यादव, डा.कमला आचार्य, एचए सन्तोष चिमरियाको ओपिडीमा ओजेटीका लागि पुगेको सहयोगी विद्यार्थीहरु मात्रै देखिन्थे ।

दैनिक औसतमा दुई सय जना सेवाग्राही स्वास्थ्य परीक्षणका लागि पुग्ने उक्त चौकीको ओपिडीमा डाक्टर नभेटिनुनु, लामो समय कुर्नु दैनिकीजस्तै भएको उपचारको लागि पुग्ने बिरामीहरु बताउँछन् । श्रीमतीसँगै सेवा लिन पुगेका जनप्रतिनिधि नरेन्द्रप्रसाद अधिकारी डाक्टरहरु समयमा नआएका कारण सेवाग्राहीहरुलाई थप पीडा हुने गरेको बताउँछन् ।

त्यसैगरी बुबाको सुगर परीक्षणका लागि ८ः३० बजे नै उक्त चौकीमा पुगेका अर्जुनधारा–१का डीबी दर्नाल समयमा डाक्टर नआएका कारण कार्यालय समयभन्दा २५ मिनेटपछि मात्र डाक्टरलाई रिपोर्ट देखाउन पाएको बताए ।

त्यसैगरी चौकीका निमित्त प्रमुख डम्मरुबल्लभ मिश्रसँग यो विषयमा जानकारी लिँदा चौकीका प्रमुख डा.यादव नै विना जानकारी विदा बस्ने गरेको प्रतिक्रिया दिए । डा. यादवले एक साताको मात्र विदा लिए पनि उनी महिनौँदेखि कार्यालय आएका छैनन् । आफू पनि कार्यालय समय भन्दा दुई मिनेट ढिलो पुगेको स्वीकारेका उनी भन्छन्–“प्रमुखलेनै बेवास्ता गरेपछी अरुले पनि त्यसै गर्ने हो ।”

प्रमुखसहित दैनिक तीन वटा ओपिडी सञ्चालन हुनुपर्नेमा स्वास्थ्यको कारण गत पुस ४ गतेबाट विदामा बसेकी प्रमुख यादवको विदा पुस १० गते नै सकिएको हो । डा. मुना नेपाललाई मात्र बुद्धशान्तिको स्वास्थ्य शिविरमा पठाउने सिफारिस गरिएकोमा अर्का डा.अनिता चौलागाईं पनि उक्त शिविरमा जाँदा ओपिडी खाली भएको निमित्त प्रमुख मिश्रले बताए । “फलानो गएन भने त जाँदिन भनेर हठ गर्छन्,‘के गर्नु ?”–उनले भने ।

पटक–पटक यो विषयमा उनीहरुलाई सचेत गराउँदा आफूलाई नटेरेको चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष पूष्पकुमार प्रसाईंले बताए । यता यस विषयमा नगर प्रमुख हरिकुमार रानासँग बुझ्दा तत्कालको लागि उनीहरुलाई सम्झाई बुझाई गर्नु बाहेक अरु विकल्प नभएको बताँउछन् । “नीतिगत र सांगठनिक समस्याका कारण उनीहरुलाई काममा उर्जा नभएको हुनसक्छ”, डा. गोविन्द केसीको आन्दोलनतर्फ संकेत गरेका उनले भने ।