बिर्तामोड, झापा । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले टिचिङ हस्पिटलले प्रदान गर्ने सेवा सुविधा प्रदान गरेको जनाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ ले बिएन्डसीलाई विधिवतरुपमा मेडिकल कलेज सञ्चालनका लागि बाटो खोलेपछि बिहीबारदेखि नै टिचिङ हस्पिटलको सेवा सुविधा दिन थालिएको पत्रकार सम्मेलन गरी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।

आगामी सेसनदेखि एमबीबीएस अध्ययनका लागि विद्यार्थी भर्ना गर्ने तयारी गरिरहेको बताउँदै उनले सेवा सुविधामा दररेट पनि कायम गरिसकिएको जानकारी दिए । एमबीबीएस अध्ययनका लागि सरकारले शुल्क निर्धारण गर्ने र कुन विश्वविद्यालयको सम्बन्धन पाउने भन्ने आयोगले टुंगो लगाउने बताइएको छ ।

सरकारको मापदण्डअनुसार मेडिकल कलेज सञ्चालनलगत्तै जनजाति, आदिवासी, दलित, द्वन्द्वपीडित, सहिद परिवार तथा विपन्न वर्गका १० प्रतिशतलाई निःशुल्क एमबीबीएस पढाउन कटिबद्ध रहेको पनि कार्यकारी निर्देशक प्रसाईले बताए । मेडिकल कलेजमा एक सय विद्यार्थीले अध्ययन गर्नेछन् ।

यस्तै, बिएन्डसीले तीन जिल्लामा सेवा विस्तारका लागि शाखा खोल्ने भएको छ । पाँचथरमा सञ्चालनमा ल्याइसकेको बिएन्डसीले इलाम र ताप्लेजुङमा २५–२५ र दमकमा ५० बेडको शाखा खोल्ने जनाएको छ ।
यसैबीच, फागुन १ गतेदेखि बिएन्डसीमा १५ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।