इलाम । दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ५ सिँधुवा खोलाबाट आज माघ २९ गते मङ्गलबार बिहान सखुवाको काठसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पेल्टीमारीको प्रहरी चौकी र चुलाचुलीको सब डिभिजन वन कार्यालयबाट संयुक्त रुपमा गस्तीमा खटिएको टोलीले साइकलमा काठ लोड गरेर अवैध निकासी गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले साइकलमा लोड गरेको ८० क्यूविक फिट सखुवाको काठ पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

साइकलमा सखुवा लिएर जाँदै गरेका माङ्सेबुङ ४ का १९ वर्षीय सबिन लिम्बू, २१ वर्षीय राजकुमार पाल, १३ वर्षीय सगुन लिम्बु र १५ वर्षीय सुभित राई पक्राउ परेका हुन् । उनीहरुकै साथबाट २० थान साइकल पनि प्रहरीले बरामद् गरेको छ । बरामद् काठ र साइकलसहित पक्राउ परेका चारै जनालाई कानुनी कारबाहीका लागि सब डिभिजन वन कार्यालयमा राखिएको छ ।