इटहरी । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ ट्राफिक प्रहरीले सवारी साधानमा टाँगिएका, झुण्ड्याइएको झल्लर, पोस्टर र माला हटाउन थालेको छ ।

ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार चालकको आँखैअगाडि सिसा ढाक्ने गरी त्यस्तै वस्तु झुण्ड्याएर र टाँगेर सवारी चलाए कारवाही गर्न थालिएको छ। प्रदेश १ का १४ वटै जिल्लाका सडकमा गुड्ने सवारी साधनमा झल्लर, पोस्टर र माला हटाउने अहिले अभियानै चलेको बताए ।

‘धागोबाट बनेका झल्लर, विभिन्न ब्यानर, चुरा, पोते, धागो, धेरै कुरा लेखिएका स्टिकर, नायक नायिकाका पोस्टर, विभिन्न पम्प्लेट, खेलौना, प्लाष्टिकका माला र फूल झुण्ड्याएर, टाँगेर र टाँसेर हिड्न पाइँदैन,’ उनले भने, ‘१४ जिल्लामा अहिले हटाउने काम सुरु भएको छ।

सजावटका नाममा आँखै अगाडि पर्नेगरी राखेर सवारी चलाउँदा चालकको ध्यान केन्द्रित त्यतै हुँदा दुर्घटना हुने गरेको अनुसन्धानबाट खुलेको छ।’

एसपी पौडेललले दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाइ, सडक ट्राफिक सचेतना, सवारी साधनको गति मापन गर्न राडार गन, मापसे चेकजाँचमा ब्रेथलाइजरको प्रयोग, सडक छेउछेउमा राखिएको विज्ञापनको होर्डिङ बोर्डसमेत हटाउन थालेको छ।  प्रदेश १ का सवारी चालकले अनिवार्य  चालक पोशाक लगाउनु र बसपार्क सरसफाइ अभियान समेत चलाएको छ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गर्नका लागि थालेको नयाँ अभियानमा सडक छेउछाउ राखिएको होडिङ बोर्ड पनि हटाउन थालेको छ। चालु आर्थिक वर्षको माघसम्म प्रदेश १ मा ७२३ सवारी दुर्घटना भएका छन् ।