धुलाबारी । मेचीनगर–४ स्थित जोरसिमलमा यही फागुन २३ र २४ गते अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम ‘विराट सत्संग समारोह २०७५’ हुने भएको छ ।

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुन लागेको कार्यक्रमको उद्घाटन मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपाल ज्यू महाराजले गर्ने भएका छन् । कार्यक्रमको उद्घाटनसँगै गुरुले आर्शिवचन पनि व्यक्त गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यामिक चेतना अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । समारोहमा नेपाल, भारत तथा अन्य राष्ट्रहरुबाट गरी लाखौं भक्तजनहरुको सहभागिता रहने नेपाल मानव धर्म समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलले समारोहका बारेमा जानकारी दिँदै समारोहलाई सभ्य रुपमा सम्पन्न गराउन व्यवस्थापन समितिसँगै स्वयम्सेवक दल गरिएको र भक्तजनहरु प्नि सक्रिय रुपमा लाग्ने बताए । समितिले स्थानीय प्रशासन, मेची उद्योग वाणिज्य संघ, स्थानीय बुद्धिजीवि, समाजसेवी, संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढिएको समेत जानकारी दिए ।

समारोहमा सहभागि भक्तजनहरुका लागि खान र बस्नेको समेत व्यवस्था गरिएको जानकारी दिँदै आकस्मिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको जनाइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने समारोहमा आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकीसँगै ख्यातिप्राप्त कलाकारहरुबाट भजनकिर्तन समेत प्रस्तुत गरिने छ ।

अनुमानित ४५ लाखको लागतमा सञ्चालन हुने कार्यक्रममा सद्गुरुदेव श्री सतपाल महाराज ज्यूसँगै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सिक्किम विधानसभाका सभामुख केएन राई, सिक्किम डेमोक्रेटिक फ्रन्टका वरिष्ठ उपाध्यक्ष गिरिसचन्द्र राई, स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको थियो ।

समारोहमा स्थानीय भक्तजनहरुकासाथै जिज्ञासु महानुभावहरुले समेत निःशुल्क प्रवेश पाउने बताइएको छ ।