अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको २७औं वार्षिकोत्सव आज सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।
प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा शिक्षक चन्द्रबहादुर खत्री र कर्मचारी गणेश थापा रहेका छन् ।
त्यसैगरी विद्यालयमा हालै सम्पन्न भएको सदनस्तरिय खेलकुद प्रतियोगिताका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष नवराम ढुंगाना “नविन”, बोर्ड सदस्य रमेश त्रिखत्री, वडा सदस्य देवकुमार राई, नगर शिक्षा शाखा अधिकृत जानुका गुरागाईं, व्यवसायी सत्यनारायण शाहलगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक हरिनारायण खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय लक्ष्मी दंगाल र सोनिया शाहले गरेका थिए ।