ताप्लेजुङ। हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइएको छ ।

बुधबार साँझ दुर्घटनास्थलबाट नेपाली सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको थियो ।  बिहीबार बिहान थप तीन शव पनि सेनाले सुकेटार ल्याएको हो ।

वर्षा र हिउँका कारण उद्धारमा कठिनाइ भएको थियो । सुकेटार विमानस्थलमा शव ल्याई पु¥याएलगत्तै शव काठमाडौँ पठाइने तयारी भएको छ । नेपाली सेनाले मन्त्री अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाउने तयारी गरेको हो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो ।