झापा । प्रदेश नं. १ मा दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणअन्तर्गतको कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।

कार्यक्रमको सुरुवात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरे । महाअभियान समितिको आयोजना तथा एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा बिर्तामोडमा दोस्रो चरणको कार्यक्रम उद्घाटन गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभातफेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियान शुभाराम्भ गरियो ।

१५ दिने अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने प्रदेश ट्राफिकका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । अभियानका क्रममा सचेतनामूलक पर्चा पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालकको स्वास्थ्य जाँच, सार्वजनिक सवारी साधनको अनुगमन, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच, घुम्ती प्रशिक्षण लगायतका कार्यक्रम गरिनेछ ।

उद्घाटन कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाइजर, १० वटा ह्वील लक र ७ सय जना चालक तथा सहचालकलाई पोशाक प्रदान गरियो । महाअभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार कार्यक्रममा ३५ लाख रुपैयाँभन्दा बढीका सामग्री हस्तान्तरण गरिएको छ ।

४ मंसिरमा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा नेपथ्य समूहबाट भव्य सांगीतिक कार्यक्रम गराएर दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गरिएको थियो । महाअभियान शुभारम्भ कार्यक्रमबाटै २० लाख २८ हजार १ सय ५७ रुपैयाँ बचत भएको संयोजक गिरीले जानकारी दिए । ७७ लाख रुपैयाँ संकलन भएको कार्यक्रममा ५७ लाख रुपैयाँ खर्च भएको थियो । त्यसक्रममा ५ हजार १ सय ८६ जनाले टिकट काटेरै नेपथ्यको कन्सर्ट हेरेका थिए ।

महाअभियान शुभारम्भका दिन बचत भएको २० लाख रुपैयाँ दोस्रो चरणमा खर्च गरिएको हो । अभियानलाई सार्थकता प्रदान गर्न चार चरणमा काम गर्ने आयोजक समितिको तयारी छ । चौथो चरणमा ट्राफिक लाइट जडान गरिने समितिले जनाएको छ ।

महाअभियान समिति र ट्राफिक प्रहरीको अगुवाइमा हरेक वर्षको २ असोजलाई ‘दुर्घटना न्यूनीकरण महाअभियान दिवस’का रुपमा मनाइँदैछ । महाअभियान सुरु भएयता चालकलाई अनिवार्य जुत्ता, टिप्पर सञ्चालनमा समय निर्धारण, टिप्परलाई टाइम कार्ड, सडक प्रशिक्षण कार्यक्रम लगायतका काम भएका छन् । दुर्घटना न्यूनीकरण महाअभियानले समुदाय र प्रहरीको सम्बन्ध अझ प्रगाढ हुने महाअभियान समितिका संयोजक गिरीको विश्वास छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई आफ्नो ठानेर मोटरसाइकल, ब्रेथलाइजर लगायतका सामाग्री सहयोग गरेकामा महाअभियान समितिलाई धन्यवाद दिए । ‘साधनस्रोत कम हुँदा प्रहरीलाई काम गर्न गाह्रो भयो भनेर यी सामाग्री उपलब्ध गराउनुभयो,’ उनले भने, ‘प्राप्त साधनस्रोतको उपयोग गर्दै राम्रो काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

सडकमा प्रहरी उपस्थित नभइ पनि समाज सुरक्षित राख्ने लक्ष्यका साथ नेपाल प्रहरीले काम गरिरहेको उनले बताए । विकसित मुलुकहरुमा पनि ट्राफिक जाम र सवारी दुर्घटना हुँदा मात्र प्रहरी सडकमा देखिने गरेको र अन्य घटनामा भने प्रविधिको प्रयोगमार्फत् प्रहरीले काम गर्ने गरेको उनले सुनाए ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी धेरै सच्चिएको बताए । ‘अब प्रहरीलाई शंकाको दृष्टीले नहेरे हुन्छ,’ उनले भने, ‘अब हरेक तीन महिनामा सार्वजनिक सुनुवाइ गरिनेछ, नचाहिँदो काम गर्ने प्रहरीले उन्मुक्ति पाउँदैन ।’ नागरिकका लागि जुनसुकै राम्रा काम गर्न प्रहरी तत्पर रहेको उनले बताए । उनले प्रहरीमा साइबर कन्ट्रोल ब्यूरो र मानव बेचबिखन नियन्त्रण ब्यूरो स्थापना गरिएको जानकारी दिए । महानिरीक्षक खनालले प्रहरी समुदाय कार्यक्रम हरेक स्थानीय तहमा पुर्याइने बताए । विद्यालयका पाठ्यपुस्तकमा ट्राफिक नियमहरु समावेश गरिने उनको भनाइ थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले मदिरा र लागुऔषधका विषयमा गम्भीर सवाल उठाएका छन् । कार्यक्रममा उनले नेपालको सीमावर्ती क्षेत्रमा मदिराको कारोबार तीव्र हुने गरेको र त्यसको बदलामा भारतीय सीमावर्ती क्षेत्रमा लागुऔषध खुलेआम बेचिने गरेको बताउँदै यसका लागि सरकारको माथिल्लो निकायले ध्यान दिनुपर्ने विषय उठाएका हुन् ।

नेपाली सीमावर्ती क्षेत्रमा मदिराको व्यापार गरेर नेपालले भारतीयलाई कुलतमा फँसाइरहेकाले नेपाली युवालाई लागुऔषध खुलेआम रुपमा बिक्री गर्नुपरेको भारतीय सुरक्षा अधिकारीहरुले सुरक्षा बैठकमा बताउँदै आएका छन्, सिडिओ सा’बलाई पनि यो विषयमा थाहा छ,’ उनले भने । कार्यक्रममा सहभागी प्रहरी महानिरीक्षक खनालले केन्द्रबाट तत्काल पहल गरेर समस्या समाधान गरिने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन बन्ने भएको छ । बिर्तामोड–३ मा रहेको ८ कट्ठा जमिनमा ट्राफिक प्रहरीको ३ तले भवन निर्माण हुने भएको हो । सवारी दुर्घटना न्यूनीकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रमस्थलबाटै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भवनको डिजिटल प्रविधिबाट शिलान्यास गरे । एक नम्बर प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालयसहित सेमिनार हल निर्माण हुने झापाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।