0 Shares

अर्जुनधारा, झापा । अर्जुनधारा नगरपालिकाको १० नम्बर वडा कार्यालयले वडाका दुई हजार ३२९ पशुपक्षीलाई परजीवी नियन्त्रणका लागि औषधि खुवाएको छ ।

वडामा रहेका पशुपालक कृषकहरुको पशुचौपायालाई लक्षित गरी अर्जुनधारा–१० वडा समितिद्वारा आयोजित दुई दिवसीय निःशुल्क परजीवी नियन्त्रण कार्यक्रममार्फत औषधि खुवाइएको हो । कार्यक्रम शुक्रबार र शनिबार गरिएको थियो ।

पशु प्राविधिकको प्रत्यक्ष निगरानीमा पशुचौपायालाई औषधिको सही मात्रा र सहज तरिकाबाट सेवन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष बलदेव गोम्देनले बताए ।

गतवर्ष आयोजना गरिएको कार्यक्रमको प्रभावकारिता र कृषकहरुको मागका कारण यसवर्ष पनि कार्यक्रमले निरन्तरता पाएको नगर पशुपक्षी शाखा प्रमुख पदमलाल राईले बताए । उनका अनुसार २३२९ वटा पशुचौपायालाई जुका, नाम्ले, किर्ना, जुम्रा, उपियाको औषधिसँगै भिटामिन सेवन तथा वितरण गरिएको थियो ।

जसअनुसार पशुचौपायामध्ये एक हजार २ वटा गाईगोरु, ५८ वटा भैँसी, एक हजार १७७ वटा खसीबाख्रा, ७० वटा बंगुर र २२ वटा कुकुर रहेका थिए । त्यस्तै कार्यक्रममा २३५ वटा कुखुराको औषधि वितरण गरिएको थियो ।

वडाको चार स्थान शिव पाञ्चायन मन्दिर शितल चोक, चुथाइस्थित सिमल चोक, कालिस्थान चोक र सट्टाभर्नामा सञ्चालन भएको उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष ०७५/०७६ को वडा विकास कार्यक्रमअन्र्तगत एक लाख २० हजार रुपैयाँ विनियोजन भएको वडा सदस्य भोला गौतमले जानकारी दिए ।

एक हजार पशुचौपायालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा कृषकहरुको उत्साहजनक सहभागिताका कारण पशुचौपायाको संख्या र औषधिमा बृद्धि भएपछि थप ५० हजार खर्च हुने सदस्य गौतम बताउँछन् ।

वडा सदस्य सीता परियारले गाईलाई नाम्लेको औषधि खुवाएर उद्घाटन गरेको समापन कार्यक्रममा नगरकी प्रवक्ता सकुन्तला बराललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण नेपालले गरेका थिए ।