झापा । झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका र भएका कार्य योजनाबारे आप्mनै वडामै गएर समिक्षा गरिरहँदा वडाबासीले भने सराहनीय कार्य भन्दै प्रशंसा गरेका छन् ।

त्रैमासिक, चौमासिक वा अर्धवार्षिकरुपमा नगर केन्द्रित गरिने समिक्षा कार्यक्रमलाई वडामै लगेर क्रिया–अन्तरक्रिया गरेपछि स्थानीयले नगर र वडामा सञ्चालित विकास निर्माणसँगै अन्य योजनाबारे बुभ्mने अवसर पनि पाएपछि उनीहरुले प्रशंसा गरेका छन् । नगरपालिकाले वडा नम्बर ३ को सभाहलमा बुधबार चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा र आव ०७५÷७६ को पूर्व योजना तर्जुमा गरिरहँदा केही सहभागीले गुनासोमात्र राखेपछि स्थानीय याम मगरले भने कार्यक्रमको खुलेरै प्रशंसा गरे ।

‘नगर र वडाले गरिआएका कामको विरोधमात्र गर्ने होइन’, उनले आप्mनो प्रसंग फरक रहेको भन्दै अगाडि भने, ‘सकारात्मक सोचको पनि विकास गरौँ, राम्रो कामको राम्रै चर्चा गर्नुपर्छ ।’ विगतका वर्षमा थाहापत्तो नपाइने नगरको कार्यप्रति यसपटक भने वडामै ल्याएर सबैसामु पारदर्शी ढंगले प्रस्तुत गर्दा उनी खुसी थिए । केही नराम्रा काम भएका रहेछन् भने सुझाव राख्नुपर्नेमा जोड दिएका उनले तर राम्रो काममा पनि भाँजो हाल्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।

राम्रो कामलाई पनि राजनीतिक, जातीय, धार्मिक र व्यक्तिगत कारणबाट हेरिँदा नकारात्मक प्रभाव पर्ने भन्दै उनले सबैलाई नगर र वडाले गरेका विकास निर्माणलगायतका कामलाई नजर अन्दाज नगर्न आग्रह गरे । पहिलेभन्दा अहिले नगरले वडामार्फत पनि थुप्रै राम्रा काम गरेको भन्दै उनले वडामै गएर समिक्षा गर्ने कार्य सराहनीय रहेको भन्दै प्रशंसा पनि गरे ।

नगरपालिकाले गर्दै आएको कार्य योजनाबारे वडा कार्यालयमै गएर समिक्षा गर्न थालेपछि अन्य वडामा पनि प्रशंसा भइरहेको कार्यक्रम तथा योजना शाखाका वरिष्ठ अधिकृत हिमराज सेढाईले बताए । उनका अनुसार वडा नम्बर ७ र ६ का बासिन्दाले पनि नगरको यस कार्यप्रति खुसी व्यक्त गरेका थिए । नगरले ६ नम्बर वडाबाट सुरु गरेर ५, २, ३, ४ र ७ नम्बरमा समिक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ । नगरले आप्mना ११ वटै वडामा गएर सरोकारवाला पक्षसँग अन्तरक्रिया पनि गर्दै आएको छ । वडामै गएर योजनाबारे समिक्षा गरिएको झापामै पहिलोपटक भएको बताइएको छ ।

बुधबार बिहान ३ नम्बर वडामा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख हरिकुमार रानाले सूचनाको हक सबैमा भए पनि पहुँच सबैमा नहुन सक्छ भनेर वडामै पुगेर नगर र वडाको कार्य योजनाबारे जानकारी दिने उद्देश्यले समिक्षा आयोजना गरिएको बताए । नगर र वडामा भइरहेका योजना र हुन बाँकी योजनाका बारेमा स्थानीयलाई जानकारी दिँदा आउने प्रतिक्रियाले सुधार गर्न मद्दत मिल्ने उनको भनाइ थियो ।

‘मिडियाबाट गरिने सूचना एकोहोरो हुने भएकाले दोहोरो बनाउन वडामै अन्तरक्रिया गरिएको हो’, उनले स्पष्ट पार्दै भने, ‘हाम्रो उद्देश्य जनताको हितको सुरक्षा गर्न, उत्तरदायित्व बोधसँगै सचेत गराउन र सूचना प्रवाह गर्नु हो ।’ सामाजिक समस्या निराकरण गर्न, गराउनका लागि पनि समिक्षा कार्यक्रम आयोजना गरिएको बताउँदै उनले नगरमा रहेका शिक्षा, महिला तथा बालबालिका, पशु, कृषि, स्वास्थ्यलगायत शाखाले के कस्तो काम गरिरहेको छ र गर्नेछ भन्नेबारे स्थानीयलाई जानकारी दिनु अर्को उद्देश्य रहेको बताए ।

‘सीमित स्रोत साधनबाट विकास होइन, चामत्कारिक विकास गर्नु नगरको अर्को योजना हो’, उनले महत्वकांक्षी योजना सुनाए । आउँदो आर्थिक वर्षदेखि पूर्वाधार विकासका योजनालाई कटौती गर्दै लैजाने पनि उनले सुनाए । छुट्टाछुट्टै कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, सरोकारवाला संस्थाका प्रतिनिधिहरुले आप्mना वडा र नगरका बारेमा जिज्ञासा राखेका थिए । वरिष्ठ योजना अधिकृत सेढाईका अनुसार विशेष गरेर वडाबासीले लागुऔषधको प्रयोग न्यूनीकरण, नगर र वडाको योजना, बजेट, विकास निर्माण, स्वास्थ्य बिमा, मल, बीऊ, खानेपानीजस्ता आधारभूत आवश्यकताका विषयमा विशेष चासो राखेको बताए ।

समिक्षा कार्यक्रममा सहभागीको जिज्ञासामा महिला तथा बालबालिका शाखा प्रमुख उमा अधिकारी, पशुपंक्षी विकास शाखाका प्रमुख पदमलाल राई, स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत, कृषि शाखाकी प्राविधिक मिना अधिकारी, पूर्वाधारका तर्फबाट इन्जिनियर लक्ष्मी सापकोटा, सूचना प्रविधि शाखा प्रमुख विनोद खनाल र योजना शाखाबाट सेढाई तथा सम्बन्धित वडाध्यक्षहरुले उत्तर दिएका थिए ।

चालु आर्थिक वर्षमा नगरस्तरीय ५५ वटा योजनामध्ये १२ वटा सम्झौता भएकोमा ७ वटा सम्पन्न भइसकेको योजना शाखाले जनाएको छ । १० करोड १० लाख ८० हजारको स्वीकृत बजेटबाट चार करोड ८४ लाख ३६ हजार ८६९ रुपैयाँ खर्च भइसकेको छ । योजनाको करिब ४८ प्रतिशत काम सम्पन्न हुँदा ४३ वटा योजना सम्झौता हुन बाँकी रहेको छ । त्यस्तै, वडास्तरीय ४३७ वटा योजनामध्ये २६३ वटाको सम्झौता भइ १२३ वटा सम्पन्न हुँदा ३८ दशमलव ३३ प्रतिशत काम पूरा भएको छ ।

नगरको ११ वटा वडालाई दामासाही एक करोड ११ लाख ५० हजार स्वीकृत बजेटबाट योजना सम्पन्न गर्न अख्तियारी दिइँदा १ नम्बर वडामा ७५ वटा योजनामध्ये ४० वटाको सम्झौता भइ २२ वटा सम्पन्न भइसकेको योजना अधिकृत सेढाईले जानकारी दिए । उनका अनुसार ३५ वटा सम्झौता गर्न बाँकी रहँदा २९ दशमलव ४४ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै, २ नम्बर वडाको २८ वटा योजनामध्ये २१ वटाको सम्झौता भएकोमा ८ वटा योजनामात्र सम्पन्न भएको छ । ७ वटा सम्झौता हुन बाँकी रहँदा यस वडामा ४२ दशमलव १२ प्रतिशत काम सम्पन्न भएको योजना शाखाले जनाएको छ ।

३ नम्बर वडाले ३३ योजनामध्ये १३ वटामात्र सम्झौता गरेको छ । ३८ दशमलव ३९ प्रतिशत काम गरेको यस वडाले १६ वटा योजना सम्पन्न गरेको छ भने २० वटा योजना सम्झौता गर्न बाँकी रहेको चैत १० गतेसम्मको प्रगति विवरण शाखाले उपलब्ध गराएको छ । ४ नम्बर वडाले ३८ योजनामध्ये ३० वटा योजनाको सम्झौता गर्दा १० वटा योजना सम्पन्न गरेको छ । ५१ दशमलव ९१ प्रतिशत काम सम्पन्न गर्दा यस वडाले ८ वटा योजनाको सम्झौता गर्न बाँकी रहेको छ ।

त्यस्तै, ५ नम्बर वडाले ४९ वटा योजनामध्ये ३४ वटाको सम्झौता सकेर १० वटा योजना सम्पन्न गरिसकेको छ । १५ वटाको सम्झौता गर्न बाँकी रहँदा यस वडाले २६ दशमलव ४१ प्रतिशतमात्र योजना सम्पन्न गरेको छ । ३२ वटा योजनामध्ये ६ नम्बर वडाले ९ वटा योजना सम्झौता गर्दा एउटा पनि योजना सम्पन्न गरेको छैन । २३ वटा सम्झौता योजनाको सम्झौता गर्न बाँकी रहँदा ३३ दशमलव ३१ प्रतिशत भने काम गरिसकेको जनाइएको छ । ७ नम्बर वडाले ३९ वटा योजनामध्ये २२ वटाको सम्झौता गर्दा १० वटामात्र योजना सम्पन्न गरेको छ । १७ वटा योजनाको सम्झौता बाँकी रहँदा भने २२ दशमलव १९ काम सम्पन्न गरेको छ ।

८ नम्बर वडाले ३९ वटा योजनामध्ये ३३ वटाको सम्झौता गरिसकेको छ । २६ वटा योजनाहरु सम्पन्न गरिसकेको यस वडाले ६ वटाको भने सम्झौता गर्न बाँकी रहेको छ । यहाँ सर्वाधिक ५३ दशमलव ७६ प्रतिशत काम सकेको छ । ९ नम्बर वडाले ३० वटा योजनामध्ये १७ वटाको सम्झौता गरेकोमा ८ वटामात्र सम्पन्न गरेको छ । १३ वटा योजनाको सम्झौता गर्न बाँकी रहे पनि ४६ दशमलव १४ प्रतिशत काम गरिसकेको जनाइएको छ ।

१० नम्बर वडाको ४१ वटा योजनामध्ये १८ वटाको सम्झौता भएको, २३ वटा सम्झौता गर्न बाँकी रहेको छ ७ वटामात्र योजना सम्पन्न गरेको यस वडाले ३१ दशमलव ५३ प्रतिशत काम पूरा गरेको छ । त्यस्तै, ११ नम्बर वडाले ३३ योजनामध्ये २६ वटाको सम्झौता गरिसकेको छ । ६ वटा योजनामात्र सम्पन्न गरेको यस वडाले ७ वटा योजना सम्झौता गर्न बाँकी छ भने ४६ दशमलव २२ प्रतिशत काम गरिसकेको योजना शाखाले जनाएको छ ।

प्रतिक्रिया र सुझावसहित आएका जिज्ञासाको जवाफ सम्बन्धित शाखा र वडाध्यक्षहरुले दिएका थिए । नगरका कार्यक्रम तथा वरिष्ठ योजना अधिकृत हिमराज सेढाइको सहजीकरणमा भएको समिक्षा कार्यक्रम चैत १७ गते सम्पन्न हुनेछ ।