अर्जुनधारा, झापा । तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अर्जुनधारा नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

नगरको सभाहलमा मंगलबारदेखि सुरु चौथो नगरसभामा अन्तर्राष्ट्रिय पदक विजेता तीन जनासहित चार जनालाई सम्मान गरिएको हो । सन् २०१८ डिसेम्बर ३० र ३१ तारिक चीनमा सम्पन्न द वल्र्ड हिरो कपमा सहभागी अर्जुनधारा ९ का दिपेन धिमालले उमेर समूहमा स्वर्ण जितेका थिए ।

२० वर्षीय धिमालले ५८ केजी तौल समूहअन्तर्गत सियिनरतर्फ स्वर्ण जितका हुन् । उनलाई नगरले नगद २५ हजारसहित प्रशंसापत्र प्रदान ग¥यो । प्रदेश सांसद बृख प्रधान, मेयर हरिकुमार राना, उपमेयर कमला आचार्य खतिवडाले नगद, दोसल्ला र प्रशंसापत्र प्रदान गरेका थिए ।

द वल्र्ड हिरो कपमै ४२ केजी तौल समूहतर्फ सहभागी एन्किला राईले पनि स्वर्ण जितेकी थिइन् । अर्जुनधारा ९ की एन्किलालाई पनि नगद २५ हजार प्रदान गरियो । त्यस्तै, ४२ केजी तौल समूहबाट सहभागी अर्जुनधारा ९ कै १७ वर्षीय विवेक गिरीलाई पनि नगदसहित प्रशंसापत्र प्रदान गरियो ।

त्यस्तै, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट चरणमा स्वर्ण पदक विजेता अर्जुनधारा ५ का अरुण डाँगीलाई पनि नगदसहित प्रशंसापत्र प्रदान गरियो । चैत ७ र ८ गते खोटाङको दिक्तेलमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय प्रतियोगितामा १९ वर्षीय अरुणले ५४ केजी तौल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा एन्किला उपस्थित थिइनन् भने अरुणको प्रशंसापत्र उनका आमा गीता डाँगीले ग्रहण गरेकी थिइन् । यसैबीच, स्वर्ण पदकधारी दिपेन धिमाललाई खेलको तयारीका लागि थप २५ हजार प्रदान गरेको छ ।