काठमाडौँ । आज बुधवार मुलुकका विभिन्न भागका मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि मनसुनको समयमा मेघगर्जन र गड्याङगुडुङसहित चट्याङ र वर्षासँगै हावासमेत चल्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

आइतवार बारा र पर्सामा गएको हावाहुरीको प्रक्षेपण गर्न नसकेको महाशाखाले बुधबारको मौषम भने प्रक्षेपण गरेको हो । महाशाखाले मङ्गलवार बेलुकी तीन दिनको मौसमी अवस्था प्रक्षेपण गर्दै बुधवार दिउँसो पूर्वी भूभागका थोरै स्थान, मध्य र पश्चिमका एक–दुई स्थानमा हावाहुरीसहित वर्षा हुने उल्लेख गरेको हो ।