धुलाबारी । मेचीनगर–१० धुलाबारी विपन्न देवीमाया मेचेको घर निर्माणका लागि संकलित रकम बुधबार हस्तान्तरण गरिएको छ ।

करिब पाँच महिनाअघि सुत्केरी अवस्थामै सहाराका रुपमा रहेका उनका श्रीमानको जण्डिस रोगका कारण निधन भएपछि उनी सहाराविहीन भएकी थिइन् । दुई वर्षकी ठुली छोरी र अर्की छोरी जन्मिएको चार दिनमै श्रीमान गुमाउन पुगेकी देवीमायाको बस्ने ओत र खाने एक माना अन्नसमेत नभएपछि उनलाई सहयोग जुटाउन विभिन्न अभियान सञ्चालन गरिएको थियो ।

घटनाबारे थाहा पाएर देवीमायाकै झुपडीमा पुगेका बिर्तामोड ३ का समिल राईले १२ हजार ३ सय रुपैयाँ दिएर आर्थिक सहयोग संकलन अभियानलाई अघि बढाएका थिए । उनै समिलको पहलमा २४ जनाबाट संकलित एक लाख ३१ हजार २५ रुपैयाँ देवीमायाको घर निर्माण समितिका संयोजक व्यवसायी विजय डालमियालाई बुधबार हस्तान्तरण गरिएको हो ।

देशविदेशबाट सहयोग गर्ने सबैमा धन्यवाद दिँदै समिलले देवीमायाको नयाँ घर हस्तान्तरण वैशाख ४ गते हुने जानकारी दिए ।
उनका अनुसार अन्य सहयोगी हातहरुको पहलमा तीन कोठे पक्की घर निर्माण गरिएको छ । जसमा माता मनकामना ट्रेडर्स बिर्तामोडका रमेश नेपालले सेनेटरी सामग्री, किरण मैनालीले रंगरोगन उपलब्ध गराएका थिए ।

नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले उपलब्ध गराएको ७ धुर जग्गामा निर्मित घर हस्तान्तरणपछि बचेको रकम बैंकमा जम्मा गरी देवीमाया र उनको परिवारको आवश्यकतामा खर्च गरिने बताइएको छ । अनौपचारिक रकम हस्तान्तरण कार्यक्रममा सञ्चारकर्मी मुक्ति पौडेललगायतको उपस्थिति रहेको थियो ।