इलाम । स्व. आशिष स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट ताप्लेजुङका पत्रकार चन्द्र पन्धाक (प्रयास) पुरस्कृत भएका छन् ।

आज इलाममा आयोजित स्व. राईको १७औँ स्मृति दिवस कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेनद्र जबेगुले पत्रकार पन्धाकलाई पुरस्कार प्रदान गरे । गोरखापत्र दैनिकका समाचारदाता तथा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्यसमेत रहेका पन्धाकलाई नगद १० हजारसहित सम्मान गरिएको हो ।

प्रत्येक वर्षको वैशाख १ गते प्रदान गरिँदै आएको उक्त पुरस्कार स्व. पत्रकार आशिष राईको स्मृतिमा स्थापना गरिएको हो । साविक मेची अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने एक जनालाई नेपाल पत्रकार महासंघ इलामले बर्सेनि पुरस्कृत गर्दै आएको छ ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको १ वैशाख २०५९ मा इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाको सुलुबुङमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

सो पुरस्कारबाट यसअघि इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, गणेश घिमिरे, नमिन ढकाल, पाँचथरका गणेश साम्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी राई, ताप्लेजुङ्गका आनन्द गौतम र सीता निरौला पुरस्कृत भईसकेका छन् ।