मेचीनगर/ आदर्श माध्यमिक विद्यालय मेचीनगर—८ मा बिहीबारबाट विद्यालय भर्ना अभियान सुरु भएको छ ।

अभियानको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गरे । नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले भर्ना हुने स—साना विद्यार्थीलाई अविर टीका पहिर्याएर शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गरे भने अभिभावकलाई धन्यावद ज्ञापन गरेका थिए ।

आयुष लिम्बू र महिमा राजवंशीलाई अभिभावकले पहिलो पटक विद्यालय भर्ना गराएका थिए । सवै विद्यालयले हाम्रो नगर हाम्रो गाउँ सबै बालबालिकालाई विद्यालय पुर्याऔ भन्ने आदर्श वाक्यको ब्यानर बनाइ भर्ना अभियान सुरु गरेका छन् । विद्यालयका प्रधानाध्यापक हेमकुमार खड्काले कुल ८५ जना विद्यार्थी भर्ना भएको जानकारी दिए ।

मेचीनगर नगरपालिका स्थानीय सरकार भएकाले आफ्नो नगरभित्रका विद्यालय जाने उमेरका सवै बालबालिकालाई विद्यालय भर्ना गराउनतर्फ नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख आचार्यले जानकारी दिए । उनले अब हरेक अभिावकले निजीमा नभएर सामुदायिक विद्यालयमा आफ्ना नानीहरु भर्ना गर्नुपर्ने उनको जोड थियो ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावकसमेत एक भएर लाग्नुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयप्रति किन अभिभावकको आर्कषण घटेको हो त्यसको कारण पत्ता लगाएर समाधानतर्फ जानुपर्ने उपप्रमुख उप्रेतीको भनाई छ ।