झापा/ मेचीनगरका अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनीय रहेको छ । धेरै विद्यालयमा दरबन्दीअनुसारका विषयगत शिक्षक नहुँदा ज्यादैं ठुलो समस्या व्यहोर्नु परेको विद्यालयको भनाइ छ ।

यो समस्या नगरका हरेक सामुदायिक विद्यालयको साझा हो । कति वटा विद्यालयमा एक जनामात्र माध्यमिक विद्यालयका शिक्षकको दरवन्दी छ । ती शिक्षकले एक्लै विद्यालय धान्नु परेको तीतो याथर्थ स्थानीय सरकारसमक्ष पोखे । नगरका प्रायः सामुदायिक विद्यालयको हालत यस्तै रहेको गुनासो उनीहरुले राखे । नगरमा ४० वटा सामुदायिक विद्यालय रहेको मेचीनगर नगर शिक्षा शाखाले जनाएको छ ।

मेचीनगर क्षेत्रभित्र सञ्चालन भएका अधिकांश सामुदायिक विद्यालयले आफ्ना समस्या बिहीबार खुलेरै स्थानीय सरकारसमक्ष राखेका छन् । मेचीनगर नगरपालिका शिक्षा शाखाले विद्यार्थी भर्ना अभियान सफल पार्ने उद्देश्यले आदर्श माध्यमिक विद्यालय इँटाभट्टा परिसरमा आयोजना गरेको सामुदायिक विद्यालयका प्रधानध्यापक र मेचीनगर नगरपालिका प्रमुख, उपप्रमुख तथा वडा नम्बर—४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजकबीच भएको अन्तरक्रियामा सहभागी प्रधानाध्यापकहरुले आफ्नो विद्यालयका समस्या स्थानीय सरकार प्रमुख, प्रतिनिधिसँग खुलेरै राखेका हुन् ।

बिहान शिक्षक घरदैलोमा नहिँड्ने, दिउँसो अभिभावक घरमा नभेटिने विद्यालय भर्ना अभियानको मुख्यः चूनौती बनेको सहभागी शिक्षक प्रतिनिधिहरुको भनाइ थियो । नगरका धेरै सामुदायिक विद्यालय निजी स्रोतले चलेको भन्दैं उनीहरुले अब हरेक वर्षको तिहारमा देउसी भैलो खेलेर विद्यालय सञ्चालन गर्नसक्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको औँल्याए । सहभागी शिक्षक प्रतिनिधिहरुले हरेक पालिकाले शिक्षाका लागि बजेट विनियोजन गर्दा एकरुपताका आधारमा विनियोज गर्न समेत सुझाव दिएका थिए ।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमकुमार खड्का, बालसुबोधिनी आधारभूत विद्यालयका प्रधानाध्यापक विश्व थापा, धुलाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुईँटेल, बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण न्यौपाने, ज्यामिरगढी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिराम चौलागाईँ, मेची जनसाधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईँ, शिशु साक्षर आधारभूत विद्यालयका प्रधानाध्यापक जसोदा सुब्बालगायतले नगरका सामुदायिक विद्यालयको विगत वर्तमान अवस्थाका बारे जानकारी दिँदै समस्या राखेका थिए ।