झापा । सडकको स्तरोन्नती गर्ने योजनामा स्थानीयस्तरमा गठित निर्माण उपभोक्ता समितिले स्टिमेटभन्दा बढी काम गरेर देखाएका छन् ।

अर्जुनधारा नगरपालिकाको वडा नम्बर ७ स्थित दाहाल चोकदेखि दक्षिण पुरुष चौतारोसम्मको सडक स्तरोन्नतीका लागि गठित उपभोक्ता समितिले त्यस्तो काम गरेको हो ।

वडाको बजेटबाट १५ सय मिटर ग्राभेल गर्नुपर्ने काम उपभोक्ता समितिले २ हजार मिटर गरेको शनिबार आयोजित सार्वजनिक सुनुवाईमा जानकारी दिइयो । समितिका सचिव तुलसी श्रेष्ठका अनुसार वडा कार्यालयले विनियोजन गरेको ११ लाख र स्थानीय जनश्रमदान २ लाख ९ हजार ३५४ रुपैयाँबाट २ हजार मिटर ४० फिटको सडक ग्राभेल गरिएको हो ।

मंसिर १३ गते निर्माण सुरु गरेर जेठ मसान्तमा सक्नुपर्ने उक्त काम करिब एक महिनाअघि नै सम्पनन भएको समितिका अध्यक्ष केवल चौहानले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष नविन ढुंगानाले समितिको काम वडालाई चित्त बुझ्दो रहेको भन्दै पञ्च वर्षीय योजनाको यस सडक आफ्नो कार्यकालभित्रै कालोपत्रे बनाएर छाड्ने प्रतिवद्धता जनाए ।

विकास निर्माणमा कुनै विवाद नआइ काम सम्पन्न गर्ने वडाको रुपमा आफ्नो वडा रहेकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘समितिको कामप्रति हामी सन्तुष्ट छौँ ।’

केही स्थानीयबासीले वर्षायामको समयमा डुबानमा पर्ने समस्या वडाध्यक्ष ढुंगानासमक्ष राखेका थिए । त्यस्तै, सडकको स्तरोन्नती गरिरहँदा मापदण्डभित्रको सडक, निर्धारित दूरी र क्षेत्रफलको पनि अनुगमन गरिनुपर्ने सुझाएका थिए ।