झापा । थोरै जनप्रतिनिधि हुन्छन्, जसले आफूलाई अवलोकन भ्रमण गर्न छुट्याएको बजेट वडाका युवा विद्यार्थीका लागि खर्च गर्छन् ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० का जनप्रतिनिधिले त्यस्तो उदाहरणीय कार्य गरेका हुन् । वडाध्यक्ष बलदेवसिंह गोम्देन तामाङ नेतृत्व जनप्रतिनिधिले अवलोकन भ्रमणका लागि छुट्याएको एक लाख रुपैयाँले स्थानीय ४५ जना युवा विद्यार्थीलाई लोक सेवा तयारी कक्षामा खर्च गरेका छन् ।

पाँच जना जनप्रतिनिधि र तीन जना कर्मचारीका लागि छुट्याइएको एक लाखमा थप एक लाखको बजेटबाट १० दिने लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको वडा सदस्य भोला गौतमले जानकारी दिए । सहभागीमध्ये एक जनाले लोक सेवामा नाम निकाले सक्षम युवालाई रोजगार बनाउने उद्देश्य पूरा हुने उनको भनाइ थियो ।

‘विकास निर्माणमात्र समृद्धको आधार नभएको निश्कर्षबाट हामीले वडामा सुशासन खोजेका हौँ’, वडाध्यक्ष गोम्देनले भने, ‘वडामा सुशासन होस्, वडाबासी सुशासित बने वडा त्यसै समृद्ध बन्छ ।’

निजामती कर्मचारी बन्नका लागि लोक सेवाप्रति अभिरुचि जगाउने वडा कार्यालयकाृ उद्देश्य रहेको भन्दै उनले वडाका युवा विद्यार्थी वैदेशिक रोजगारमा भन्दा निजामती कर्मचारी बन्न आतुर रहेको देखिए पनि उपलब्धी मान्न सकिने बताए ।

वडा कार्यालयको रचनात्मक कार्यको प्रशंसा गर्दै अर्जुनधारा नगरकी उपप्रमुख कमला खतिवडा आचार्यले तयारी कक्षा लोक सेवा भिड्नका लागि मात्र नभएर चौतर्फी ज्ञानका लागि हुने पनि बताइन् ।

वडा कार्यालयको रचनात्मक कार्यको खुलेरै प्रशंसा गरेकी उपप्रमुख खाचार्यले अन्य वडाभन्दा १० नम्बर अघि नै रहेको आफ्नो मूल्यांकन पनि सुनाइन् । विद्यार्थीलाई पढ्ने बानीको विकास गर्न आग्रह गरेकी उनले वडाको उद्देश्य पूर्तिका लागि स्वयं विद्यार्थीको मिहेनतमा भर पर्ने बताइन् ।

नगरको आउँदो बजेट अधिवेशनमा यस्ता रचनात्मक कार्यका लागि बजेट विनियोजन गर्ने आश्वासन दिँदै उनले वडाको उद्देश्यलाई सार्थकता दिन सहभागीलाई आग्रह गरिन् ।

तयारी कक्षाका सहजकर्ता तथा नगरका प्रशासन शाखा अधिकृत विजय शर्माले यस्ता उपलब्धीमुलक कार्यमा खर्च गर्ने थोरै जनप्रतिनिधि हुने भन्दै प्रशंसा गरे । सहभागीलाई लोक सेवाको तयारीका लागि समय तालिका बनाएर अध्ययन गर्न उनको सुझाव थियो ।

अरु काम कामै होइन, निजामती कर्मचारीको काममात्र ठूलो काम हो भन्ने मानसिकताबाट ग्रसित नेपाली समाजमा स्थापित हुन पनि निजामती कर्मचारी बन्नु परेको उनको आफ्नै अनुभव पनि सुनाए ।

काम नै छाडेर पढ्नु पर्छ भन्ने मान्यता राख्नुभन्दा तयारी गर्नका लागि आफैँभित्र प्रतिवद्धता गर्नु आवश्यक हुने बताउँदै उनले लोक सेवाको तयारी जहिले पनि निरन्तरता हुने गरेको बताए ।

सहभागीको तर्फबाट बोल्दै टीका नेपाल ढुंगेलले लोक सेवा भन्नुबित्तिक्कै डर मान्नुपर्ने धारणा तयारी कक्षाबाट हटेको अनुभव सुनाइन् । ‘अझ बढी मिहेनत गर्नुपर्छ भन्ने पाठ सिकायो’, उनले भनिन्, ‘अर्को वर्षका लागि जसरी भए पनि फारम भर्नेछु ।’

वडा सचिव कृष्ण नेपालका अनुसार निजामती कर्मचारी बन्नका लागि आवश्यक तयारीका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित कक्षामा सहभागी विद्यार्थीलाई ४५ हजारबराबरको लोक सेवा तयारीको किताब प्रदान गरिएको छ ।

लोक सेवामा अभिरुचि बढाउँदै उनीहरुबीच प्रतिस्पर्धी बनाउने अर्को उद्देश्य रहेको बताउँदै उनले तयारी कक्षाले निजामती कर्मचारीमा मात्र नभएर बैंक, प्रतिष्ठानमा पनि काम दिने बताए ।