अमित खम्बू

अर्जुनधारा, झापा । झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह खण्ड–५को कैदलेमा शरणार्थी स्मृती पुष्प वन वाटिका निर्माणको काम धमाधम भइरहेको छ ।

शरणार्थीहरुको स्मृतिमा पर्यापर्यटन कार्यविधि २०७५ लाई कार्यान्वयन गर्दै वनमैत्री वातावरणको कैदले पर्यापर्यटन प्रवद्र्धन कार्यक्रमअन्र्तगत डेढ महिना अघिदेखि निर्माण शुरु भएको उक्त वाटिकाको ५० प्रतिशत कार्य सम्पन्न भएको प्राविद्यिक इन्द्र तामाङले बताए ।

सात कठ्ठा सात धुर क्षेत्रफलमा निर्माण भइरहेको वाटिकामा हालसम्म कम्पाउण्ड बाहिर र भित्र रेखाङकनमा प्लम र पिलर डिजाइन, १८ फिट भुटनिज मोनोग्राम स्तम्भको फाउण्डेसन निर्माण, शौचालय ढलाइलगायतको काम सम्पन्न भएको छ ।

बाँकी कामहरु सात फिटको कम्पाउण्ड वालमा दुई फिटको प्लमसहित पाँच फिटको जाली लगाउने, स्तम्भ र त्यस क्षेत्रको बाँकी काम सम्पन्न गर्ने, कार्यालय र सभाहल निर्माण गर्ने, चौतारा निर्माण गर्ने, गेट जडान गर्ने, माटो भर्नेलगायत रहेको छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने उक्त वाटिकाको काम निर्धारित समयमै सम्पन्न हुने प्राविद्यिक तामाङले दावी गरे । “जेठ मसान्तसम्म पूर्वाधार निर्माणको काम सक्छौं, बाँकी एक महिना वाटिकामा श्रृंगारका काम गर्छौं”, उनले भने ।

भुटानी शरणार्थी स्मृति पार्कअन्र्तगत एउटा क्लस्टरकोरुपमा निर्माण भइरहेको वन वाटिकासँगै निर्माण हुने अन्य क्लस्टरहरुमा भुटानी शरणार्थी होल्डिङ एण्ड केयरिङ सेन्टर, भुटानी शरणार्थीहरुको डमी क्याम्प, भुटानी शरणार्थी मेमोरियल म्युजियमलगायत निर्माण हुने फोकल पर्सन गीता पौड्यालले जानकारी दिइन् ।

त्यसैगरी कार्यालयका लेखापाल हरि खतिवडाका अनुसार सोही खण्डमा समूहले एकीकृत पर्यापर्यटन पूर्वाधार विकास क्षेत्रअन्तर्गत पार्कसहित १५ हेक्टर क्षेत्रफलमा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, ४ हेक्टर क्षेत्रफलमा डाले घाँस तथा भूइँ घाँस उत्पादन क्षेत्र, २.५ हेक्टर क्षेत्रफलमा कैदले सिमसार क्षेत्र, २ हेक्टर क्षेत्रफलमा फाल्गुनन्द स्मृति पुष्प वन वाटिका, २ हेक्टर क्षेत्रफलमा वनभोज स्थल, १ हेक्टर क्षेत्रफलमा एनिमल स्ट्याचु पार्कलगायत निर्माण गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

२०४८ सालदेखि बसोबास गरेका भुटानी शरणार्थीहरु तेस्रो देश पुनर्वाससँगै त्यस क्षेत्रबाट आर्थिक वर्ष ०६७÷०६८ मा स्थानान्तरण भएका थिए ।