झापा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले आधुनिक प्रविधिको विकास तीव्र भईरहँदा अल्छे पत्रकारिताको काम नभएको बताएका छन् ।

आज २६ औं विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर पूर्वी नेपालको काँकरभिट्टामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकारितालाई राजनीतिले संकुचित बनाउन खोजेको र पत्रकारले समाचार लेख्दा र फोटो खिच्दा पनि अनुमति लिनु पर्ने सरकारको निर्णय आपत्तिजनक रहेको टिप्पणी गरे ।

पत्रकार महासंघ झापा शाखा र नारी सञ्चार गृह झापाले आयोजना गरेको र्यालीमा पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, झापा अध्यक्ष तारामणि सापकोटा, पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, मोहन काजी, नारी सञ्चार गृह झापा अध्यक्ष अम्बिका भण्डारी, नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलगायतको सहभागिता थियो ।

नेपालमा यस वर्ष ‘लोकतन्त्र र शान्तिका लागि मिडिया स् इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित यो दिवस मनाईयो। सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ। नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ। नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा धेरै कानुन बने पनि यी कानूनहरुले स्वतन्त्र प्रेसलाई संकुचित बनाउने आशंका विभिन्न क्षेत्रबाट गरिएको छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेको वा समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्ने घटनाहरु भइरहेको भन्दै प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानूनहरु संशोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष आचार्याले २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, फौजदारी संहिता सम्बन्धी ऐनका विभिन्न दफाले प्रेसलाई संकुचित बनाएको भन्दै राज्यको प्रतिबद्धता अझै पुरा हुन नसकेको औंल्याएका छन्। दिवसको अवसर पारेर बुधबार काठमाडौंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्धर्ता याली आयोजना गरिएको थियो।