शान्तिनगर । भाषाशास्त्री महानन्द सापकोटाको १२३ औं जन्मजयन्ति आज विभिन्न कार्यक्रम गरि मनाँइदैछ ।

इलामको रोङ गाउँपालिका ५ साबिक इरौंटार ८ देवनछापमा निर्मित महानन्द सापकोटाको सालिक परिषरमा उनको जन्मजयन्ति मनाउन लागिएको हो । महानन्द स्मृति प्रतिष्ठानले हरेक बर्ष उनको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

भाषाशास्त्री महानन्द सापकोटाको जन्मजयन्तिलाई रोङ गाउँपालिकाले समेत सहयोग र सहकार्य गर्दै आएको छ । जन्मजयन्तिको अवसरमा भाषाशास्त्री सापकोटाको विषयमा कार्यपत्र प्रस्तुत र सोही कार्यपत्रमाथि टिप्पणी, रोङ गाउँपालिका भित्रका सामुदायिक विद्यालयको तर्फबाट २०७५ सालको एसईई परिक्षामा सहभागि भई उच्च अंक ल्याउने १० जना छात्र-छात्रालाई महानन्द स्मृति छात्राबृत्ति पुरस्कारबाट पुरस्कृत गरिने महानन्द स्मृति प्रतिष्ठानका महासचिव सोमनाथ पौड्यालले जानकारी दिए ।

कार्यक्रमअनुसार महानन्द सापकोटाको बारेमा बरिष्ठ पत्रकार चन्द्र भण्डारीले कार्यपत्र प्रस्तुत गर्ने र सो कार्यपत्रमाथी कार्यपत्रमाथी मेची क्याम्पस भद्रपुरका प्राध्यापक तारा विविध पौडेलले टिपपणी गर्नु हुनेछ ।

उच्च अंक ल्याउने १० जना छात्र-छात्रालाई जनही ५० हजार रुपैयाँको दरले छात्राबृत्ति वितरण गरिने छ । उक्त अक्षयकोष रोङ गाउँपालिकाले गत बर्ष स्थापना गरेको हो । सोही कार्यक्रममा साहित्यिक कार्यक्रम, रोङ गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्थलगत कविता लेखन प्रतियोगिता, सोरठी कला केन्द्रको तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहेको महासचिव पौड्यालले बताए । भाषाशास्त्री सापकोटाको जन्मजयन्तिको दिन रोङ गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ ।

भाषाशास्त्री सापकोटाले नेपाली भाषा, साहित्य, संस्कृति र जनजागरणमा अग्रणी भूमिका निर्वाह गरेका थिए । विक्रम सम्ब्त १९५३ बैशाख ३० गते इलामको साविक इरांैटार– गाबिस को देवगाउँको, पहाडको थुम्कामा उनको जन्म भएको थियो । घरैमा संस्कृतका पुस्तक, रामायण र महाभारतको अध्ययन गरेका सापकोटाले भारतको दार्जिलिङमा कक्षा ८ मा भर्ना भएर कक्षा १० सम्मको औपचारिक शिक्षा लिएको बताइएको छ ।

उनले देवानछापमा धेरैजसो समय गाईवस्तु पालनमा बिताएका थिए । घरमै कखरा सिकेका सापकोटाले भाषा र साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याएका छन् । तर, राज्यले उनको योगदानको कदर गर्न सकेको छैन् । देवानछाप डाँडामा उनको २३ बर्षअघि अर्धकदको शालिक निर्माण गरिएको छ ।

महानन्द स्मृति प्रतिष्ठानले भने बर्षमा एकपटक भए पनि उनलाई सम्झने गरेको छ । सालिक परिषर रहेको स्थानमा खेल मैदान, खानेपानी र शौचालय समेतको ब्यवस्था गरिएको छ । पर्यटकीय, ऐतिहासिक र सामाजिक तवरबाट त्रिकोणात्मक सम्बन्ध बनाएको शालिक परिसरबाट झापा झर्ने बिभिन्न मार्गहरु बन्ने क्रममा छन् ।

स्वर्गीग रामचन्द्र सापकोटा र सरस्वती सापकोटाको सुपुत्र महानन्दको न्वारनको नाम यज्ञनिधि थियो । सापकोटाको निधन २०३५ साल असार १ मा भएको थियो ।