धनकुटा । सहिद भीमनारायण गोल्डकपको १४औँ संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ टीमले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी क्यामरुनी टोली दाउफिन्स एफसीलाई टाइब्रेकरमा पराजित गर्दै एपीएफले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टोलीबाट २-२ गोलको बराबरी भएपछि एपीएफले टाइब्रेकरमा बाजी मारेको हो । टाइब्रेकरमा एपीएफले ३-२ गोलअन्तरमा दाउफिन्समाथि जीत निकाल्यो ।

खेलमा दाउफिन्सका खेलाडीले गोल गरेर अग्रता लिए पनि जोगाउन सकेनन् । जसमा खेलको ४०औँ मिनेटमा दाउफिन्सका यानिक ओवानाले गोल गरेका थिए । तर, एपीएफका रवि थिङले ६०औँ मिनेटमा पाएको पेनाल्टी सुटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

एक एक गोलको बराबरीमा भएको खेलमा फेरि दाउफिन्सका पेटांगाले ६७औँ मिनेटमै गोल गरेर अग्रता दिलाए । तर, ८९औँ मिनेटमा एपीएफका महेश लामाले गोल गरे फेरि खेललाई बराबरीमा ल्याएर टीमलाई अब्बल सावित गरे ।

टाइब्रेकरमा एपीएफ ३-२ गोलले संस्करणको विजेता बन्यो । जीतसँगै एपीएफले नगद चार लाख र ट्रफी पायो । विजेता तथा उपविजेता टीमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुरस्कार प्रदान गरे ।