मेचीनगर । वासमिप २ परियोजना अन्तर्गतका खानेपानी प्रणालीहरुको दुई दिने अवलोकन तथा अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

खानेपानी आपूर्ति व्यवस्थापनको हालको समस्या चुनौती र यसका समाधानका उपायका बारेमा छलफल र अन्तरक्रिया, खानेपानी आपूर्ति संरचनाहरुको सञ्चालन तथा मर्मत सम्भार, अभिलेख कार्य, पानीको गुणस्तर परीक्षण र नतिजाको संप्रेषण विधि अवलोकन तथा धुलावारी खानेपानी उपभोक्ता समितिको खानेपानी सञ्चालनहरुको राम्रो पक्षहरु अवलोकन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा झापा, मोरङ तथा नवलपरासी जिल्लाका कुल २४ वटा उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो ।

झापाको धुलावारीमा राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र नगरकोट भक्तपुरले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र नगरकोट भक्तपुरले वासमिप २ र हालको गतिविधिका बारेमा, खानेपानी तथा सरसफाइ विस्तार, प्रणाली वर्गीकरण तथा प्रणाली अनुरुपण एवम् सरोकारवालाहरुको दायित्व र जिम्मेवारी, उपभोक्ता समितिहरुमा सुशासन नीतिगत तथा आर्थिक पक्ष, लागत साझेदारी, लागत उठ्ती तथा महसुल निर्धारणको माध्यमबाट माग सिर्जना एवम् नियन्त्रणको सन्दर्भलगायतका विषयमा छलफल गर्दै आफ्नो प्रस्तुति दिएको थियो । सहभागीहरुबीच यस्तै विषयमा छलफल भएको थियो ।

धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष अजयकुमार घिमिरेले आफ्नो संस्थाको खानेपानी प्रणालीको परिचयात्मक प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरुले पानी प्रशोधन प्रणाली, उपभोक्ता समितिको कार्यालय परिसर र पानी प्रशोधन प्रणालीको अवलोकन गरेका थिए । कार्यक्रममा खानेपानी सेवा तथा सुविधाको पहुँच नपुगेका घरधुरीलाई समेट्ने, समावेशीकरण, सेवा तथा प्रणालीको सुचारुपन तथा दीगोपन, उपभोक्ता संस्थाहरुमा ज्ञान तथा सूचना व्यवस्थापन ः महत्व, समस्या तथा विगतका प्रयासहरु तथा भावी कार्यदिशा र सुरक्षित खानेपानी तथा सुव्यवस्थित सरसफाइ तथा खानेपानी सुरक्षा योजनाको अवधारणा र कार्यान्वयन प्रक्रियाका बारेमा छलफल गदैं प्राविधिक र व्यवस्थापकीय सुधारका लागि निश्कर्ष, प्रतिवद्धता, कार्ययोजना र कार्यक्रमको समिक्षासहित समापन भएको थियो ।

वासमिप २ परियोजनाका प्रमुख सल्लाहकार सातोरु ओनीकिसान, इञ्जिनियरहरु विनोद गजुरेल, कोजो हायासी सिता, युसाकु नुमाजोरी, प्रशिक्षण केन्द्रका प्रमुख कविन्द्रविक्रम कार्की, धुलावारी खानेपानी उपभोक्ता समितिका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, पूर्व अध्यक्ष मणिकुमार उप्रेतीलगायतले विविध विषयमा सहभागीहरुसँग छलफल गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव कञ्चन तामाङले गरेका थिए ।