धनकुटा । यहाँ जारी राजारानी अग्नि-बसुन्धरा रारा गोल्डकपको नवौँ संस्करणमा सोमबारको खेलबाट मोरङको सगरमाथा एफसी फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनल खेलमा आयोजक राजारानी एफसीलाई सडन डेथमा पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयमा गोलरहित खेलेका दुवै टोलीले टाइब्रेकरमा पनि समान नतिजा निकालेका थिए ।

अन्ततः सडन डेथमा ६-५ गोलअन्तरमा सगरमाथा भाग्यमानी सावित बन्यो । उसका लागि शुसिल राई , अभिषेक लिम्बु , मनोज राई, भुबन बस्नेत, तिर्थ बस्नेत, बिरेन लिम्बुले गोल गरे । आयोजकका लागि बुद्ध चेमजोड्ग, एन्जल गुरूड्ग, प्रबेश दनुवार, बिजय धिमाल, दिलेन लोकतामको प्रहारमात्र गोलमा परिणत भयो ।

त्यस्तै, सगरमाथाका खेलाडी रोशन भुजेलको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे भने आयोजकका तर्फबाट योगेश गुरुङ र सुमिन मैनालीको प्रहार पनि सगरमाथाको गोलरक्षक पूर्ण चेम्जोङले बचाए । उनी म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार पाए ।

मंगलबारको अन्तिम सेमिफाइनल खेल क्यामरुनी टोली दाउफिन्स एफसी र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ । गोल्डकप विजेताले नगद २ लाखसहित ट्रफी पाउनेछ ।