बिर्तामोड । कवि तथा साहित्यकार इन्द्रप्रसाद कटुवालद्वारा लिखित स्मृति र अनुभूति नामक कृतिको आज शनिबार आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

जयेन्द्रप्रसाद साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा डाक्टर तुलसी भट्टराईको प्रमुख आतिथ्यतामा कोषको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा स्रष्टा कटुवालद्वारा लिखित स्मृति र अनुभूति कविता संग्रहको प्रमुख अतिथि भट्टराईले लोकार्पण गर्नुभएको हो ।

कृति लोकार्पण गर्दै प्रमुख अतिथि डा. भट्टराईले पुस्तक पठन संस्कृति कम हुँदै जाँदा लेखकहरु अप्ठ्यारो स्थितिमा रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले प्रविधिको विकासले पढ्न भन्दा सुन्न सहज भएका कारण लेखकलाई पाठक र बजार खोज्ने चुनौति बढेको बताउनु भयो । सहजताका कारण किताब कम पढिन थालेपनि पुस्तकको दीर्घकालिन भविष्य हेरेर लेखनमा लागि रहनुपर्ने बताउनु भयो ।

सो अवसरमा बोल्दै कृतिका लेखक कटुवालले समाजमा नैतिकता हराएर विकृति बढ्दै गएकोप्रति असन्तुष्ट स्रष्टा कटुवालले पुस्तकमा सुसंस्कार, नैतिकता, देशभक्ति, पर्यावरण लगायत समसामयिक विषयहरु समेटिएको छ ।

कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेल, यज्ञराज प्रसाई, प्राज्ञसभा सदस्य सुभद्रा अर्याल, विनोद खनाल, बाबुलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नुरज भट्टराई (नदी) ले सञ्चालन गरेको कार्यक्रममा स्वागत मातृका संग्रौलाले गर्नु भएको थियो भने कृतिको समीक्षा साहित्यकार देवी संग्रौलाले गर्नुभएको थियो ।

लेखकको व्यक्तित्वबारे भरत भट्टराईले प्रकाश पार्नुभएको कार्यक्रममा गीता सुवेदी नेपाल, सिसा थारु, आरती पोखरेल, जय आचार्य, पुष्पलाल प्रसाई, हरिनारायण भट्टराई, मीना अधिकारी, त्रिलोचन भण्डारी, शिव अधिकारी लगायतले रचना वाचन गरेका थिए ।