बाहुनडाँगी । मेचीनगर ३ पहलेधापमा सम्पन्न अन्तर क्लब नकाआउट फुटबल प्रतियोगितामा बहुवन सामुदायिक वनले फाइनलको उपाधि चुमेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा रोङ गाउँपालिकालाई २–० को गोल अन्तरले पराजित गर्दै बहुवनले उपाधिमाथि कब्जा जामाएको हो । जीतसँगै बहुवनले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता बेनेको रोङ गाउँपालिकाले नगद २० हजार प्राप्त गरेको छ ।

जीतका लागि बहुवनका खमिरगिल्सन कन्दङ्वा र निशेन लिम्बूले गोल गरेका थिए । खेलको उत्कृष्ट खेलाडी रोङका गोलरक्षक सनम राई भए । उनले नगद पुरस्कार प्राप्त गरे ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रासद मैनाली, प्रायोजक संस्था बहुवन सामुदायिक वनका अध्यक्ष भानु थापामगर, सहप्रायोजक नरेन्द्र मेचे, मेचीनगरका सदस्य टिकाराम मग्रान्ती, वडा अध्यक्ष हर्कबहादुर बस्नेत, आयोजक संस्थाका अध्यक्ष छत्रबहादुर सारु लगायतले वितरण गर्नुभएको थियो ।

सोही अवसरमा बहुवन सामुदायिक वन र धुलाबारी अटो प्रालिबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा १–० गोल अन्तरले बहुवन विजयी भएको थियो । जीतका लागि बहुवनका तर्फबाट देबु बानियाँले गोल गरेका थिए । विजेता बनेको बहुवनले नगद २ हजार १ सय पुरस्कार प्राप्त गरेको थियो । गत जेठ २ गतेबाट सुरु भएको प्रतियोगितामा इलाम र झापाका १६ टिमको सहभागिता रहेको थियो ।