काठमाडौँ-  काठमाडौंमा आइतबार अपराह्न भएको बम विस्फोटनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सुकेधारा विस्फोटमा थप एकको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । सुकेधारा ढलान पुल नजिक दिउँसो बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

घाइतेमध्ये ओम अस्पतालमा उपचाररत एक जनाको राति मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम खुल्न सकेको छैन ।

यसअघि सुकेधारा घटनामा परी काभ्रे घर भइ कपन बस्दै आएका ४४ वर्षीय हरि खड्का र कपन चुलिखेलका सुरेश महर्जन रहेको प्रहरीले जनाएको थियो ।

यस्तै अपराह्न भएको सिलिन्डर बम विस्फोटमा अनामनगरमा एक जनाको मृत्यु भएको छ । मृतक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी नेता प्रज्ज्वल शाही हुन् ।