धनगढी । नेपालमा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

प्रतियोगिताको प्रथम संस्करण भर्खरै स्थापना भएको शैलेश्वरी स्पोर्ट क्लब धनगढीले आयोजना गर्ने भएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर ५ देखि १४ गतेसम्म धनगढीस्थित रंगशालामा प्रथम अपी सैपाल गोल्डकप आयोजना गर्ने जनाएको हो ।

सो प्रतियोगितामा सात प्रदेशका सात र तीन विभागीय टीमको सहभागिता रहने क्लबका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख १ हजार र उपविजेताले २ लाख ५१ हजार हात पार्ने समेत अध्यक्ष भट्टले जानकारी दिए ।

त्यस्तै व्यक्तिगत विधातर्फका उत्कृष्टहरुलाई जनही १०–१० हजार र प्रत्येक खेलका वुमन अफ दी म्याचलाई ५–५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । खेलकूदको विकास नै सुखी नेपाली समृद्ध नेपाल निर्माणको प्रमुख आधार भन्ने नाराको साथ प्रतियोगिताको सन्चालन गरिने आयोजकले जनाएको छ ।