झापा । लेट मी टक स्पीच कम्पिटिसनमा झापा अर्जुनधारा ८ का दिपक ढुंगाना च्याम्पियन बनेका छन् ।

युवा विद्यार्थीहरुको व्यक्तित्व विकाससँगै अभिव्यक्ति स्वतन्त्रताको बृद्धि गर्ने उद्देश्यले बिर्तामोडमा आयोजित कम्पिटिसनमा सहभागी ३४ जनालाई पछि पार्दै ढुंगानाले उपाधि रक्षा गरेका हुन् । जीतसँगै उनले नगद २० हजार र ट्रफी प्राप्त गरे ।

देवी माविमा अध्ययनरत १९ वर्षीय यी ठिटाले ‘नेपाली युवाहरुको आर्थिक सशक्तिकरण’ विषयमा तीन मिनेट लामो आफ्ना भनाइ राखेका थिए । फाइनल राउण्डमा ५ जनालाई पछि पारेर च्याम्पियन बनेका उनले ६ जना निर्णायकको ध्यान आफूतर्फ खिचेर पहिलो सिजनको विजेता बन्न सफल भएका हुन् ।

कक्षा १२ को परीक्षा दिएर बसेका प्रतिभाशाली ढुंगाना शनिश्चरेमा रहेको मेरो रेडियोका प्रस्तोता, प्राविधिक पनि हुन् । यो उपाधि जित्नका लागि उनले तीन राउण्ड पार गरेर फाइनलमा प्रवेश गरेका थिए ।

ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट बिर्तामोडले आयोजना गरेको प्रतियोगितामा दमक बहुमुखी क्याम्पसकी रुविना विष्ट दोस्रो भइन् । उनले नगद १५ हजार पाउँदा गोमेन्द्र कलेज बिर्तामोडकी संस्कृति रिजालले तेस्रो हुँदै नगद १० हजार र ट्रफी पाइन् ।