झापा । झापाको शिवसताक्षी नगरपालिका ३ पारावारीमा आयोजित तेस्रो प्रदेशस्तरीय खुल्ला पुरुष भलिबलको उपाधि झापा गाउँपालिका शरणामतीले हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा छिमेकी टिम कनकाई नगरपालिका झापालाई पराजित गर्दै शरणामतीले नगद १ लाख १ हजारसहितको उपाधि रक्षा गरेको हो । दोस्रो बनेको कनकाई नगरपालिकाको टिमले भने नगद ५१ हजार रुपैँया र ट्रफी पाएको छ ।

यो जितसँगै झापा गाउँपालिकाले एक सातामै दुई उपाधि जितेको छ । शनिबारमात्रै झापा गाउँपालिकाले सुनसरीको इनरुवामा आयोजित प्रदेशस्तरीय प्रतियोगिताको उपाधि जितेको थियो ।

वडा खेलकुद विकास समिति शिवसताक्षी ३ नम्बर पारावारीको आयोजनामा आयोजित प्रतियोगितामा प्रदेश नम्बर १ का १२ टिमको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता टिमलाई शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, वडाअध्यक्ष पुण्यप्रसाद सापकोटा, अव्यवस्थित बसोवास विकास समितिका अध्यक्ष राधाकृष्ण खनाल, नगर खेलकुद समितिका राजु श्रेष्ठ, नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराईलगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी विजयी टिमका घनश्याम गुरुङ्ग भए । उनले नगद ५ हजार पाए । यसैगरी उत्कृष्ट ब्लकर विजयी टिम शरणामतीकै मिलन गुरुङ्ग, बेष्ट सटर शरणामतीकै मिलनचन्द्र ठकुरी, बेष्ट सर्भिस शरणामतीकै दिन राणा, बेष्ट क्युकर कनकाई नगरपालिकाका सुरज चौधरी, बेष्ट लिब्रो कनकाई नगरपालिकाका गणेश कटुवाल र बेष्ट स्पीकर कनकाईकै मनिष गौतम भएको आयोजक समितिका संयोजक लासाङ्ग दोर्जे तामाङ्गले बताए ।

यसअघि यस क्षेत्रका ३ विद्यालय भानु मावि, पाथिभरा प्रावि र शान्ति आधारभूत प्राविलाई भलिबल खेलको बृद्धि विकासका लागि बल र नेट प्रदान गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय समाजसेवी टिका तामाङ्गले सौजन्य गरेका हुन् ।