सुनसरी । झापाको बिर्तामोड युनाइटेड एफसी सातौँ भलुवा गोल्डकपको उद्घाटन खेलमा विजयी भएको छ ।

बुधबारदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा उदयुर ११ एफसीलाई ३–१ गोलको अन्तरमा पराजित गर्दै बिर्तामोडले विजयी सुरुवात गरेको हो । बिर्तामोडका लागि सुमिन मैनाली, विकास राई र रमेश गुरुङले गोल गरे । उदयपुरका लागि दिवस श्रेष्ठले सान्त्वना गोल गरे ।

खेलको सुरुवातीमै उदयपुरले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ५ मिनेटमै दिवसले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, बिर्तामोडका सुमिन मैनालीले १३औँ मिनेटमा गोल गरेर बराबरीमा पुर्याए ।

खेलको ७०औँ मिनेटमा विकास राईले गोल गरेर खेललाई २–१ को नतिजामा ल्याए भने रमेश गुरुङले ७९औँ मिनेटमा अर्को गोल गर्दै टिमको जीत सुनिश्चित गरे । खेलमा बिर्तामोडले २ र उदयपुरले ३ वटा पहेँलो कार्ड पाएको थियो ।

जीतसँगै बिर्तामोड क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच बिर्तामोडका कप्तान योगेश गुरुङ घोषित भए । उनले नगद पाँच हजार पाए । बिहीबारको प्रिक्वार्टर खेल रेड हर्ष एफसी इलाम र गोल्डेन स्टार क्लब आयोजकबीच हुनेछ ।

१० टिम सहभागी गोल्डकपको विजेताले नगद तीन लाख र उपविजेताले नगद एक लाख ५० हजारसहित ट्रफी पाउनेछ ।