बिर्तामोड । पत्रकार तीर्थ सिग्देल आजबाट औपचारिकरुपमा सर्जक बनेका छन् । छिटपुटरुपमा साहित्य साधना गरिरहेको बताउने सिग्देलले ‘मनोनेट’ नामक कथासंग्रह सार्वजनिक गरेर आजबाट आफूलाई साहित्य सर्जकका रुपमा उभ्याएका हुन् ।

‘मनोनेट’ कथासंग्रहको साहित्यकार भवानी क्षेत्रीले विमोचन गरिदिएकी हुन् । कथा संग्रहको पहिलो पाठकका रुपमा लेखकले चुनेका भवानी क्षेत्रीकै काँधमा लोकार्पित पुस्तकको समीक्षात्मक टिप्पणी गर्ने जिम्मेवारी पनि दिइएको थियो ।

पुस्तकको विमोचन पछि साहित्यकार क्षेत्रीले पुस्तकमा रहेका कथा छोटो र सरल भएको बताइन् । ‘अहिलेको युग भनेको थोरै बोलेर धेरै बुझाउनुपर्ने युग हो’, उनले भनिन्, ‘पुस्तक युग सापेक्ष लेखिएको रहेछ ।’ कथा छोटा र कतिपय स्थानमा कवितात्मक शैलीमा लेखिएको तर कतिपय कथाको अन्त्यमा प्रयोग गरिएका वाक्यले कथा पूरा नभएको जस्तो लागेको छ ।

उनले एउटा कथामा उल्लेखित वाक्यमा महिलाप्रतिको दृष्टिकोणमा आलोचनात्मक टिप्पणी गर्दै आम नेपाली पुरुष प्रवृत्ति देखाइएकोमा आलोचना पनि गर्न भ्याइन् । समाज बदल्न साहित्य सिर्जना साधन बन्ने दृष्टान्त औंल्याउँदै साहित्यकार क्षेत्रीले भनिन्, ‘अब आउने समाज कस्तो हुनुपर्छ भन्ने आशयको कथा बन्नुपर्छ, मनोनेटले यो क्षमता राखेको पाइएन ।’

पुस्तकका सर्जक सिग्देलले मनोनेट जन्म अन्तर्य (रचनागर्भ) खोतल्दै मोफसललाई साहित्यको ‘भर्जिन ल्याण्ड’ बताए । ‘साहित्यमा अझै संघीयता छैन, काठमाडौंमा बसेर गाउँको चित्रण गर्ने कतिपय साहित्यमा कृतिमपन छ तर मोफसल यसको भर्जिन ल्याण्ड हो’, मनोनेटका सर्जक सिग्देलको बुझाई छ ।

आफूले पत्रकारितासँगै साहित्यमा कलम चलाउन थालेकाले तेस्रो कृतिका रुपमा मनोनेट जन्मिएको बताए । ‘काठमाडौंका प्रकाशकहरु मार्केटिङका लागि यहाँ आउने गरेपनि हाम्रा पुस्तकको प्रकाशन र बजारीकरणमा तिनीहरुको ध्यान जान नसक्नु दुःखदायी हो’, उनले टिप्पणी गरेका छन् ।

कार्यक्रममा पत्रकार कृष्ण हुमागाईं र दिपीन राईले मन्तव्य राखेका थिए । मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको पुस्तकमा २२ वटा कथा समेटिएका छन् भने पुस्तक १७२ पृष्ठको रहेका छन् ।