झापा । नेपाली फुटबल टोली चाइनिज ताइपेइसँगको मैत्रीपूर्ण फुटबल खेल्न मंगलबार त्यहाँ पुगेको छ । नेपाली टोली मलेसियाबाटै चाइनिज ताइपेइ गएको हो । नेपाल र चाइनिज ताइपेइबीच बिहीबारका लागि मैत्रीपूर्ण खेल तय छ ।
दुई वटा मैत्रीपूर्ण अन्तर्गत पहिलो खेलका लागि नेपाली टोली शुक्रबार मलेसिया पुगेको थियो । आइतबार भएको खेलमा नेपाली टोलीले घरेलु टोलीलाई २–० को नतिजा सुम्पेको थियो । फिफा वरियतामा नेपाल भन्दा पछाडि भए पनि मलेसिया जित निकाल्न सफल भयो । विश्व कप छनोटमा नेपाल एसियाली वरियताका शीर्ष ३४ भित्र पर्न सफल भएकोले सोझै दोस्रो चरण खेल्ने पाउने भएको छ । मलेसियाले भने प्ले अफ खेल्नु पर्नेछ ।
प्रशिक्षक योहान कालिनले जिम्मेवारी सम्हालेयता नेपालले ३ मैत्रीपूर्ण खेल खेलिसकेको छ । मलेसियाअघि नेपालले कुवेतविरुद्ध २ मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा गोलरहति बराबरी खेलेको नेपालले दोस्रो खेलमा १–० को हार बेहोरको थियो । नेपालले पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन ।