इलाम । इलामका कतिपय सामुदायिक विद्यालयको नाममा रहेको जग्गा अतिक्रमणको चपेटामा परेको छ ।

जग्गाको उचित संरक्षणमा सरोकारवाला निकायको बेवास्ता र भूमाफियाको चलखेलले सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको हो । सदरमुकामस्थित आदर्श मावि, गोलाखर्कस्थित भगवती मावि, सूर्योदय नगरपालिकाको करफोक मावि, माइजोगमाईको नामसालिङ मावि लगायतका पुराना सामुदायिक विद्यालयसँग प्रशस्त जग्गा जमिन छ ।

तर, कुनै पनि विद्यालयले आफ्नो नाममा रहेको जमिनको उचित प्रयोग र संरक्षण गर्न सकेका छैनन् । सदरमुकामस्थित आदर्श उच्चमाविले त आफ्नो सम्पति जोगाउन भन्दै अड्डा अदालत धाउदा आम्दानीभन्दा बढी खर्च गरेको छ ।

इलाम बजार नजिककै जग्गाबाट समेत फाइदा लिन नसक्दा विद्यालयले आर्थिक संकट भोग्नुपरेको सदरमुकाममा रहेको आदर्श मावि इलामका प्रधानाध्यापक कुमार पौडेल बताउँछन् । सुर्योदय नगरपालिकास्थित करफोक माविको नाममा नगरपालिका क्षेत्रमै चार सय ९५ रोपनी र झापामा ४२ विघाहा जमिन छ ।

तर, मोहियानी हक दाबीले केही जग्गा विद्यालयको स्वामित्ववाट गुमिसकेको छ । कतिपय विद्यालयले त जग्गा मिच्ने र मोहीका नाममा दाबी गर्नेविरुद्ध मुद्दा मामिलामै ठूलो रकम खर्चिनुपरेको छ ।

सदरमुकामको भवगती उच्च माविको नाममा झापाको अर्जुनधारा नगरपालिकास्थित सेतीपानीमा रहेको ६ विघाहा १३ कट्ठा जमिनमध्ये १७ कट्ठा मोहीले लगिसकेका छन् भने विद्यालय आसपासको १८ रोपनी जमिनको पनि सदुपयोग नसकेको नसकेको भगवती उच्च माविका प्रधानाध्यापक डोर कुमार पौडेलको भनाइ छ ।

सामुदायिक विद्यालयले आफ्नो स्वामित्वमा भएको जग्गा जमिनको संरक्षणमा ध्यान नदिए अतिक्रमण बढ्ने देखिन्छ ।