झापा । विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा जियानी इनफान्टिनो फेरि चुनिएका छन्।
फ्रान्सको पेरिसमा बिहीबार भएको फिफाको ६९औं फिफा कंग्रेसले इनफान्टिनोलाई चारवर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो। स्विस नागरिक ४९ वर्षीय इनफान्टिनो सन् २०२३ सम्म विश्व फुटबलको सर्वोच्च निकायको अध्यक्षमा रहनेछन्।
कंग्रेसमा विश्वका दुई सय ११ देशका प्रतिनिधिको सहभागिता रहेको थियो। फिफा अध्यक्षमा निर्वाचित भए पनि इनफान्टिनोले आफ्नो अघिल्लो कार्यकालमा फुटबललाई आपराधिक गतिविधिको जञ्जालबाट मुक्तगरी फुटबल खेलको वास्तविक मूल्य र मान्यता दिलाउन सफल भएको बताए।
नेपालबाट अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पासहित उपाध्यक्षद्वय पंकजविक्रम नेम्बाङ, वीरबहादुर खड्का र सदस्य पेमा शेर्पा सहभागी छन्।