काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले पहिलो पटक उपाधि उचालेको हो ।

१ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । ओपनर सुनिल धमलाले ४२ रनको ईनिङ्स खेल्दै टोलीको उपाधि यात्रा तय गरे । अमित श्रेष्ठले ४४ रन बनाउँदै पुलिसको जितको आधार तयार गरेका थिए । कप्तान मञ्जित श्रेष्ठ ११ रनमा नटआउट रहे ।

यसअघि, पहिले ब्याटिङ्ग गरेको आर्मीले ३३ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय २५ रन मात्र बनाउन सक्यो । पवन सरार्फ र ललितनारायण राजवंशीले धारिलो बलिङ गर्दै आर्मीको ब्याटिङ लाईन धरासायी बनाएका थिए ।

ओपनर राजु रिजाल र सोमपाल कामीले आर्मीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । त्यसपछि लगातार विकेट पतन सुरु भएपछि आर्मी सस्तैमा समेटिएको थियो ।

राजुले ३२ र सोमपालले ३५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन गतिलो रहेन सकेन । रोहित पौडेल १८ र भिम सार्की २० रन बनाएर आउट भए ।

तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किदा कप्तान बिनोद भण्डारी १, राजेश पुलामी मगर ३ र हरी चौहान ४ रन बनाएका थिए ।

पुलिसका पवनले ७ ओभरमा ४ मेडल राख्दै १२ रन खर्चेर ४ विकेट लिए । ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट हात पारे ।

प्रतियोगिताको तीनै संस्करणको फाईनल खेलेको आर्मीले उपाधि जित्न भने सकेन । अघिल्लो सिजन आर्मीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको थियो । पहिलो संस्करणको उपाधि एपीएफ र आर्मीले संयुक्त रुपमा बाँडेका थिए ।

उपाधिसंगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो ।