झापा । पूर्वी तराईमा महामारीको रुप लिइरहेको डेंगु रोगको नियन्त्रण लामखुट्टेको लार्भा नष्ट गर्नु नै अन्तिम उपाय भएको सम्बन्धित विज्ञहरुले बताएका छन् ।

अर्जुनधारा नगरपालिकामा डेंगु ज्वरोसम्बन्धी सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम आयोजना गरी विज्ञहरुले त्यस्तो बताएका हुन् । नगरका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधि सहभागी कार्यक्रममा सरुवा रोग नियन्त्रण विभागको इपिडिमोलोजी शाखाबाट आएका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले डेंगु रोगको जानकारी, रोकथाम र हालसम्म गरिएका नियन्त्रणका प्रयासहरुबारे स्पष्ट पारेका हुन् ।

उनले विगत र वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै डेंगु रोग नियन्त्रणमा सरोकारवालाको भूमिकाबारे छलफल गरिएको बताए । लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान नै डेंगु रोग नियन्त्रण प्रभावकारी भएको उनको भनाइ थियो ।

गाडीको टायर, हेल्मेट, खाली बट्टा, ड्रममा सफा पानी जम्ने भएकाले त्यस्ता स्थानमा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने र पानी जम्न नदिएको खण्डमा केही रोकथाम हुने उनले बताए ।

एडिसएजिप्टाइ र एलबोपिक्टर्स प्रजातिको लामखुट्टेमा डेंगु संक्रमित भएको अवस्थामा त्यस्ता लामखुट्टेले मानिसमा टोके डेंगु सर्ने गर्दछ । नेपालमा महामारीका रुपमा २०१७ मा झापा, रुपन्देही र महोत्तरीमा फैलिएको थियो ।

त्यस्तै, ०१८ मा काास्की र यस वर्ष सुनसरीमा डेंगु रोगले महामारीको रुप लिएका हो । यसअघि झापामा दुई जनाको डेंगुकै कारण मृत्यु भएको थियो भने अहिलेसम्म अर्जुनधारामा दुई जनामा संक्रमण भएको पाइएको छ ।

वयस्क लामखुट्टेले सफा पानीमा अण्डा पार्ने, २ देखि ३ दिनमा अण्डा लार्भा बन्ने, लार्भा ४ देखि ५ दिनमा प्यूपा बन्ने गर्छ । प्यूपा बनेको २ दिनभित्रमा वयस्क लामखुट्टे बन्ने जीवन चक्र जनस्वास्थ्य अधिकृत कोइरालाले जानकारी दिए ।

त्यस्तै, ३० दिनसम्म बाँच्ने यस प्रजातिका लामखुट्टेले एक पटकमा ८ सय वटा अण्डा पार्ने गर्छ । लार्भा पानी बिना बाँच्न नसक्ने भए पनि अण्डा महिनौँसम्म बाँच्ने अध्ययनले देखाएको छ ।

यो लामखुट्टेले अँध्यारोमा भन्दा पनि दिउँसो र घाम अस्ताउनुअघि मान्छेलाई टोक्ने गर्छ । यस लामखुट्टेले एकभन्दा बढी मानिसलाई टोकेर प्रजनन्का लागि आफू तयार हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

डेंगु भाइरस ४ प्रकारका हुने र ४ किसिमबाटै डेंगु सर्ने बताइएको छ । डेंगु १ र २ लागिसकेका व्यक्तिलाई पुनः सोही डेंगु नलाग्ने प्रदेश स्वास्थ्य कार्यालय झापाका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. मधुसुदन कोइरालाले बताए । तर, ३ र ४ डेंगु संक्रमण भएको व्यक्तिलाई पुनः लाग्ने भएकाले रोग झन् खतरा हुने पनि उनले बताए ।

अहिलेसम्म झापामा १ र २ डेंगुमात्र देखिएको बताउँदै आफूले जिल्लाको बिर्तामोड, भद्रपुर र दमकका अस्पताललाई डेंगु रोगको रगत परीक्षण गरिँदा सेम्पल सुरक्षित राख्न निर्देशन दिइसकेको पनि डा. कोइरालाले बताए ।

कडा प्रकारको ज्वरो आउनु, टाउको, पेट र आँखाको गेडी दुख्नु, जीउ र जोर्नी दुख्नु, वाकवाकी लाग्नु, रातो बिबिरा आउनु, नाक, गिजाबाट रगत बग्नु र बेहोश हुनु यसका लक्षण हुन् ।

यस्तो भएको खण्डमा तुरुन्त अस्पताल गएर रगत जँचाएको खण्डमा रोग पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । यसबेला आरडिटी किटबाट पनि रगत जँचाउन उनीहरुको सुझाव छ ।

डेंगुको भाइरस संक्रमण भएको पाइएमा आराम गुर्नुपर्ने हुन्छ । बिरामीले झोलिलो पदार्थ खाने, औषधि प्रयोग गर्दा सिटामोलमात्र स्वास्थ्यकर्मीले सुझाएका छन् । ज्वरो आयो भन्दैमा अन्य औषधि सेवन गरे रोग झन कडा भएर जाने उनीहरुको भनाइ छ । बिरामीलाई सकेसम्म छिटो अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।

अध्यक्षको भनाइ राख्ने क्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले डेंगु रोग नियन्त्रणका लागि नगरमा २ देखि ३ दिन सचेतना कार्यक्रम गरिने बताए ।

उनले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मीसहितको टिम परिचालन गरेर नगरमा डेंगु रोग नियन्त्रणमा ल्याउने प्रयासको थालनी गरिने बताए ।

फरक प्रसंगमा सार्वजनिक खरिद ऐनले भनेजस्तो औषधि खरिद गरेर नगरबासीबाट आफू आलोचित हुने काम गर्दै नगर्ने उनले स्पष्ट पारे ।
सस्तोमा धेरै औषधि खरिद गर्ने ऐनमा आकर्षित हुन नसकिने बताएका उनले जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेतर्फ आफू नरहेको पनि बताए ।

उनले स्वास्थ्यकर्मीप्रति इंगित गर्दै जनप्रतिनिधिलाई जोडेर नकरात्मक सन्देश प्रवाह गर्ने काम रोक्न आग्रह गरे । कार्यक्रमको सञ्चालन नगरको स्वास्थ्य शाखा प्रमुख मुकुन्द सिवाकोटीले गरेका थिए ।