काठमाडौँ । नायिका करिश्मा मानन्धरले एसईईमा ‘बी प्लस’ नतिजा प्राप्त गरेकी छिन् । ‘मैले गरेको प्रयासमा सफल भएकी छु’, बिहीबार नतिजा सार्वजनिक भएलगत्तै नायिका मानन्धरले भनिन्, ‘अब प्लस टु पढ्ने छु । यसअघि ह्युमनिटीज् पढ्ने सोचेको थिएँ । तर अब म्यानेजमेन्ट पढ्ने निधो गरिसकेकी छु । म सरकारी कलेजमा पढ्ने छु ।’

उनले यसअघि पढेको महिला विद्यालय सामुदायिक भएको बताइन् । ‘नेपाली समाजमा सरकारी विद्यालयलाई गरिबका छोराछोरीमात्र पढ्ने भन्ने गलत मान्यता बसेको छ’, मानन्धरले भनिन्, ‘मलाई एसईई रिजल्ट आउनुअघि नै ठूला निजी कलेजले फ्रीमा पढाउने अफर गरेको थियो । तर, मैले अस्वीकार गरें । किनभने सबैको पहुँच पुग्ने सरकारी स्कुल र कलेज नै हो । त्यसैले मेरो योजनामा अडिग छु ।’

सांसद चौधरी भन्छिन्, ‘नतिजाले उत्साहित छु’


सांसद शान्ता चौधरीले एसईईमा ‘बी’ ग्रेड हासिल गरेकी छिन् । ‘बाटोमा छु, एसईईको नतिजा बी आयो भनेर सुनें’, बिहीबार अपराह्न भनिन्, ‘मैले मिहिनेत गरेअनुसार बी प्लसको अपेक्षा राखेको थिएँ । संघर्षबाट प्राप्त नतिजा जेजस्तो आएको छ, स्वीकार्य छ । यसले मलाई उच्च शिक्षा हासिल गर्ने ढोका खोलिदिएको छ ।’

आदिवासी थारु समुदायमा जन्मे, हुर्केर कम्लहरी जीवन व्यतित गर्दा शिक्षाको उज्यालोबाट बन्चित हुनुपरेको पीडा बिर्सनै नसिकिने रहेको उनी सुनाउँछिन् । मुक्त कम्लहरीको नेतृत्व लिएर राजनीतिकमा सक्रिय उनी संविधान सभामा सभासद् भइन् ।

त्यसपछि हाल प्रतिनिधिसभाकी सांसद छिन् । ‘यो एसईई नतिजाले उत्साहित छु’, उनले भनिन्, ‘मेरो रोजाइको विषय कानुन र विज्ञान हो । कुन पढ्ने भन्नेबारे निर्णयमा पुगिसकेकी छैन । जुनसुकै विषय पढे पनि सरकारी कलेजमा पढ्छु ।’