रेन्नेस (एएफपी)- लिकी मार्टेन्सले अन्तिम मिनेटमा पेनाल्टीमार्फत विजयी गोल गरेपछि पूर्व विजेता जापानविरुद्ध २-१ को ऐतिहासिक जित निकाल्दै नेदरल्यान्ड्स पहिलोपल्ट फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

लिकी मार्टेन्सले अन्तिम मिनेटमा पेनाल्टीमार्फत विजयी गोल गरेपछि पूर्व विजेता जापानविरुद्ध २-१ को ऐतिहासिक जित निकाल्दै नेदरल्यान्ड्स पहिलोपल्ट फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बार्सिलोना स्टार मार्टेन्सले अन्तिम-१६ अन्तर्गत रेन्नेसमा भएको खेलमा उत्कृष्ट ब्याकहिल फ्लिकमार्फत डच टोलीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको अन्त्यतिर युई हासेगावाले प्रतियोगिताकै सानदार गोल गरी खेल बराबरीमा ल्याइन् । जापानले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि प्रतियोगिताको अर्को एक खेलको नतिजा पेनाल्टीबाट छिनोफानो भयो ।

९० औं मिनेटमा भिभियान्ने मिडेमाको प्रहार रोक्ने क्रममा कप्तान साकी कुमागाइले बक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा मार्टेन्सले गोल गरेकी हुन् । युरोपियन च्याम्पियन नेदरल्यान्ड्सले क्वाटरफाइनलमा इटालीको सामना गर्नेछ । मंगलबारै भएको खेलमा इटालीले चीनलाई २-० ले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थयो ।

‘यो इतिहास हो, जुन हामीले रच्यौं । यसमा हामी गर्व गरिरहेका छौं तर हाम्रो लक्ष्य यहींसम्म मात्र होइन, हामी अर्को खेलको प्रतीक्षा गरिरहेका छौं । आशा गछौं कि अर्को आश्चर्यजनक नतिजा निस्कियोस्’, मार्टेन्सले भनिन् । उनले खेलको अन्त्यमा दिइएको पेनाल्टी जापानका लागि निराशाजनक रहेको पनि स्विकारिन् । उनले भनिन्, ‘यो निर्णय हाम्रो होइन, हामी वास्तवमै खुसी छौं र कहिलेकाहीं तपाईलाई भाग्य पनि आवश्यक पर्छ ।’

सन् २०११ मा विश्वकप जितेको जापानले चार वर्षअघि फाइनलमा पराजय बेहोरेको थियो । यो संस्करणमा उसको हारसँगै अन्तिम-१६ बाटै एसियाली चुनौती समाप्त भएको छ । महिला विश्वकपको क्वाटरफाइनलमा पुग्ने साबिक विजेता अमेरिकाबाहेक अन्य सबै युरोपेली देश छन् ।

पराजित जापानका खेलाडीलाई रंगशालामा उपस्थित दर्शकले सहानुभूति दिएका थिए । ‘स्वीकार गर्न कठिन हुन्छ तर बल मेरो हातमा लागेको थियो र पेनाल्टी थियो । म निकै दुखी भएँ र यो पनि बुझें यो फुटबल हो’, भावुक बन्दै जापानी कप्तानले भनिन् ।