काँकरभिट्टा । राष्ट्रिय खेलकूद परिषद्बाट नवनियुक्त नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेतीलाई बिहीबार काँकरभिट्टामा सम्मान गरिएको छ ।

जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष डिल्लीराम घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनलाई खादा, माला र अविर पहिर्याएर बधाई तथा शुभकामनासहित सम्मान गरिएको हो ।

सो अवसरमा युवा नेता राजु कार्की, कराते वरिष्ठ प्रशिक्षक अर्जुन लम्साल, स्वयंसेवक प्रशिक्षक केदार ढकाल, एसबी निकेतन अंग्रेजी विद्यालयका प्रिन्सिपल दिपेश खड्का, मजदूर नेता खडानन्द भण्डारीलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

मेचीनगर सितोरियो कराते परिवारले हनुमान मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि एवँ एथ्लेटिक्सका पूर्व राष्ट्रिय खेलाडी राजकुमार श्रेष्ठ, कुस्ती सहायक प्रशिक्षक वेदनिधी भण्डारी, एकेएफ कोच बद्री विष्ट, कराते पूर्व वरिष्ठ प्रशिक्षक सौरभ प्रधान, राखेप कराते सहायक प्रशिक्षक मीना पाठक उप्रेती, मेचीनगर खेलकूद समिति सदस्य सपना मगर, समाजसेवी भूपाल शिवाकोटीलगायतको आतिथ्यता थियो ।

कार्यक्रममा मेचीनगरमा सञ्चालित विभिन्न डोजोका प्रशिक्षक, खेलाडी, खेलप्रेमी, स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको एनकेएफ रेफ्रि लक्ष्मी भण्डारीले बताइन् ।

राखेप कराते सहायक प्रशिक्षक कृष्ण बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन कराते स्वयंसेवक प्रशिक्षक मदनकुमार भण्डारीले गरेका थिए ।