एजेन्सी- स्वीडेन र नेदरल्यान्डस् महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । स्वीडेनले उपाधिको दावेदार जर्मनीलाई तथा नेदरल्यान्डस्ले अर्को उपाधिको दावेदार इटालीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएका हुन् ।
राओजोन पार्क रेनिसमा शनिबार राति भएको खेलमा स्वीडेनले खेलमा पछि परेको स्थिति उल्ट्याएर २-१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो ।
१६औं मिनेटमा लिना मागुलको गोलबाट जर्मनी खेलमा १-० ले अघि बढेको थियो । तर, जर्मनीको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा सोफिया ज्याकोभसनले बराबरी गोल फर्र्कासँगै स्वीडेन खेलमा फर्किएको थियो ।
दोस्रो हाफको शुरुमै स्टिना ब्लयाक स्टेनसले गोल गर्दै स्वीडेनलाई खेलमा २-१ को अग्रता दिलाइन् । त्यसपछि थप गोल निस्कन नसक्दा स्वीडेन २-१ ले विजयी हुन सफल भयो ।
अर्को खेलमा नेदरल्यान्डस्ले इटालीलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

७०औं मिनेटमा भिभियानी मिडेमा र ८०औं मिनेटमा स्टेफानी भान डर ग्राक्टले गोल गर्दै नेदरल्यान्डस्लाई २-० को जित दिलाए ।
यससँगै महिला विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र अमेरिका तथा दोस्रो सेमिफाइनलमा नेदरल्यान्डस् र स्वीडेनबीच खेल हुनेछ ।