भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्रका निर्माणकर्मी (डकर्मी)हरुलाई सुरक्षात्मक र गुणस्तरीय निर्माणसम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको छ ।

मुख्य रुपमा भूकम्पप्रतिरोधी र चट्याङप्रतिरोधी भवन तथा अन्य कंक्रिट संरचना कसरी निर्माण गर्न सकिन्छ भन्ने प्राविधिक ज्ञान दिने उद्देश्यले निर्माणकर्मीहरुलाई पुनर्ताजगी तालिम प्रदान गरिएको नगरपालिकाको भवन शाखाका इञ्जिनियर आरिफ अलिले जानकारी दिए ।

भद्रपुरस्थित होटल आनीमा शनिबार शुरु तालिमको उद्घाटन गर्दै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भूकम्प, बाढी, चट्याङजस्ता विपद जुनसुकै बेला पनि आउनसक्ने भएकाले यस्ता विपदबाट सुरक्षित रहनसक्ने संरचना निर्माणमा सबै नगरवासी सचेत रहनुपर्नेमा जोड दिए । ‘नेपाल भूकम्प, बाढीपहिरो, चट्याङजस्ता विपदको उच्च जोखिममा रहेको देश मानिन्छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘यी विपद कुनै पनि समय आउनसक्ने आंकलन गरी पक्की संरचना बनाइनु पर्दछ ।’

नगरपालिकाको योजना शाखा प्रमुख इञ्जिनियर योगेन्द्र रञ्जितकारले सञ्चालन गरेको उद्घाटन समारोहका प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख श्रेष्ठले आफूले सिकेको प्राविधिक ज्ञान र भवनसम्बन्धी मापदण्ड र आचासंहिताअनुसार घरलगायतका पक्की संरचना निर्माण गर्न निर्माणकतालाई सुझाव दिन सहभागीहरुलाई आग्रह गरे ।

उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगरभित्र बन्ने भौतिक संरचना बलियो र विपद जोखिम वहन गर्नसक्ने प्रकारको हुनुपर्ने तालिमको उद्देश्य रहेको प्रष्ट पारे भने नगरपालिकाको पूर्वाधार समितिका संयोजक घनश्याम लकान्द्री र ४ नं वडाध्यक्ष हंशधर राजवंशीले प्राप्त ज्ञानलाई निर्माणकार्यमा अक्षरशः पालना गर्न–गराउन सहभागीहरुलाई आग्रह गरे ।

सोमबारसम्म तीनदिन चल्ने तालिममा इञ्जिनियर आरिफ अलि, अर्सद अलि, अंकित दाहाल र इम्रान अलिले विभिन्न प्राविधिक विषयमा प्रशिक्षण प्रदान गर्नेछन् ।

यसअघि आधारभूत तालिम लिइसकेका ५० जना निर्माणकर्मीलाई प्रदान गरिएको यस तालिममा भूकम्पको परिचय, भूकम्प तथा चट्याङ प्रतिरोधात्मक भवन निर्माण, विफलता शैली र यसका समाधान, भवन निर्माणमा नयाँ प्रविधि, भवन निर्माण गर्दा हुने गल्तीहरु र सच्याउने उपाय, नक्सापास प्रक्रिया र यसको संवेदनशीलतालगायत विषयमा प्रशिक्षण दिइने इञ्जिनियर अलिले जानकारी दिए ।

तालिमलाई अमना इञ्जिनियरिङ विर्तामोड र डिलाइट कन्सल्टेन्सी भद्रपुरले प्राविधिक सहयोग पुर्याएको भवन तथा नक्सा शाखाकाउ पेन्द्र पौडेलले जानकारी दिए ।