इलाम । मुख्यमन्त्री कप प्रदेश १ लिग छनौटतर्फ समूह सी मा रहेका झापा र इलामले प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

बुधबार इलामस्थित ठूलो टुंडिखेल मैदानमा भएको पहिलो खेलमा झापा जिल्ला लिग च्याम्पियन सैनिक युथ क्लब झापाले सरस्वती एफसी पाँचथरलाई ३-१ ले हरायो । त्यस्तै सोही मैदानमा भएको दोस्रो खेलमा घरेलु टोली रेडहर्ष एफसी इलामले प्रगति युवा क्लब ताप्लेजुङलाई ४-१ ले निराश तुल्यायो । विजेता दुवै टोलीले समान ३-३ अंक बटुलेका छन् ।

आज झापाले ताप्लेजुको टोलीसँग पहिलो खेल खेल्नेछ भने इलामले पाँचथरसँग दोस्रो खेल खेलनेछ ।

यस्तै, उदयपुरमा जारी खेलमा बुधबारसम्म दुई दुई खेल सम्पन्न भएको छ । बेलबारी फुटबल क्लब मोरङ र बाक्सिला फुटबल क्लब खोटाङ अहिलेसम्म समान ४ अंकका साथ शीर्ष स्थानमा छन् भने बेल्टार युनाइटेड क्लब उदयपुर र ओखलढुंगा १-१ एक खेलमा जीत र एक खेलमा हार व्यहोर्दै समान ३-३ अंकका साथ दोस्रो सूचीमा छन् । संखुवासभाको टोली भने जीत दर्ता गर्न नसक्दा अंकविहीन रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रदेश १ को उदयपुर, सुनसरी र इलाममा गरी तीन जिल्लामा जारी प्रतियोगितामा सहभागी १४ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष दुई टोली बिराटनगरमा हुने अन्तिम चरणको प्रतियोगिताको लागि छनौट हुनेछन् ।