झापा । इलाममा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश फुटबल प्रतियोगिताको छनौट चरणमा बिहीबार सैनिक युथ क्लब झापाले दोस्रो जीत निकाल्दै समूहमा शीर्ष स्थानमा उक्लिएको छ ।

झापाले दोस्रो खेलमा ताप्लेजुङको प्रगति युवा क्लबमाथि गोलवर्षा गरेको हो । दोस्रो खेलमा झापाले ताप्लेजुङलाई बिहीबार ७-२ गोल अन्तरले पराजित गरेको हो । झापाको यो जीतसँगै ६ अंक बटुल्न सफल भएको छ । ताप्लेजुङ अंकविहीन रहेको छ ।

दोस्रो खेलमा इलाम र पाँचथरले बराबरी खेलेर अंक बाँडेका छन् । इलामको रेडहर्ष एफसी र पाँचथरको सरस्वती एफसीले १-१ गोलको बराबरी खेलेर समान १-१ अंक बाँड्न बाध्य भए । दोस्रो खेलसम्म इलामले ४ अंक र पाँचथरले जीत निकाल्न नसके पनि बराबरी खेलेर १ अंकका साथ खाता खोलेको छ ।

यसैगरी उदयपुरमा भने बिहीबारदेखि दोस्रो चरणका खेलहरु भएका छन् । जसअनुसार बेलबारी फुटबल क्लब मोरङले जीत दर्ता गरेको छ । विपक्षी सोलुखुम्बु ११ एफसीलाई २-० गोलले पराजित गर्दै मोरङले तीन अंक बटुल्न सफल भयो । उसका लागि खेलको नौ मिनेटमा सौरभ कार्की र ७९औँ मिनेटमा सुशन लामाले गोल गरे । खेलको म्यान अफ दी म्याच मोरङका सौरभ कार्की घोषित भए । उनले नगद ५ हजार पाए ।