झापा । इलाम र उदयपुरमा सञ्चालित मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय फुटबल लिगको छनौट प्रतियोगिताबाट मोरङ र झापा समूह विजेता बनेका छन् । समूह क बाट मोरङ र समूह ग बाट झापा विजेता बनेको हो भने सुनसरीमा जारी प्रतियोगिताबाट समूह ख को विजेता चयन हुनेछ । इलामको ठुलो टुँडिखेलमा आज भएको खेलमा झापाको सैनिक युथ क्लबले इलामको रेड हर्स एफसीलाई १-० गोलको जीत दर्ता गर्यो । अपराजित यात्रालाई कायम राख्दै झापाले तीन खेलमा जीत निकाल्दा ९ अंकका साथ शीर्ष स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो । आजको खेलको म्यान अफ दी म्याच झापाका सुमिन मैनाली घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार पाए ।

सूचीको दोस्रो स्थानमा रहेको इलामले एक खेलमा जीत, एक खेल बराबरी र एक खेलमा हार व्यहोर्दै ४ अंकका साथ समूहको उपविजेता बन्न सफल रह्यो । समूह ग बाट झापा र इलाम अर्को चरणमा प्रवेश गरेका छन् । यहाँ झापा, इलाम, पाँचथर र ताप्लेजुङले प्रतिस्पर्धा गरेका थिए ।

गाइघाटमा आयोजित समूह क बाट चार खेलमध्ये तीन खेलमा जीत र एक खेलमा बराबरी खेलेको बेलबारी एफसी मोरङ समूह विजेता बनेको छ । ८ गोल गरेर २ गोल खाएको बेलबारीले १० अंकका साथ शीर्ष स्थान प्राप्त गर्यो ।

त्यस्तै, चार खेलमध्ये दुई खेलमा जीत र दुई खेलमा बराबरी गरेको बाक्सिला एफसी खोटाङ समूहको उपविजेता बनेको छ । उसले ६ गोल गर्दा ३ गोल खाएको थियो । ८ अंकका साथ खोटाङ समूहको उपविजेता बन्यो ।

शनिबार भएको खेलमा ओखलढुड्गा जिखेबिस ओखलढुड्गा र बेल्टार युनाइटेड युथ क्लब उदयपुरले ४-४ गोलको बराबरी खेले । खेलमा ओखलढुंगाका राजु राई म्यान अफ दी म्याच घोषित हुँदै पुरस्कारस्वरुप नगद ५ हजार पाउन सफल भए ।

यहाँ सहभागी बेल्टार युनाइटेड उदयपुर गोलअन्तरका आधारमा समूहको तेस्रो बन्यो । समान ४ अंक बटुलेको ओखलढुंगा जिल्ला खेलकुद विकास समिति तेस्रो र १ अंकमात्र बटुलेको सोलुखुम्बु खेलकुद विकास समिति अंक तालिकाका पुच्छारमा रह्यो ।