काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सदस्य सचिवमा सिलवाललाई पठाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले सिलवाललाई सदस्य-सचिवका लागि तयारी अवस्थामा बस्न निर्देशन गरेको बालुवाटार स्रोतले बतायो ।
सिलवाललाई भोली बस्ने मन्त्रिपरिषदको बैठकले औपचारिक रुपमा नियुक्त गर्नेछ । निर्वतमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गतेबाट चार बर्षे कार्यकाल पुरा भएपछि सरकारले सिलवाललाई सदस्य सचिव नियुक्त गर्न लागेको हो ।
प्रधानमन्त्री केपी ओलीका निकट मानिने सिलवालले मंगलबार पदभार ग्रहण गर्ने श्रोतले बतायो । सिलवाललाई प्रधानमन्त्री, उप-प्रधानमन्त्री र खेलकुद मन्त्रीले नै पदमा बस्न आग्रह गरेपछि उनले पद सम्हाल्न राजी भएको स्रोतले जनायो ।
नेकपा निकट मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पुर्व अध्यक्ष समेत रहेका सिलवाल उच्च माध्यमिक विद्यालय एसोसिएसनका अध्यक्ष हुन् । उनि गोल्डेन गेट कलेजका सञ्चालक समेत हुन् । यसअघि सिलवाल नेपाल क्रिकेट संघको तदर्थ समितिको संयोजक रहेका थिए ।
सदस्य सचिवको दौडमा निर्वतमान सदस्य सचिव बिष्टसँगै दानबहादुर तामाङ, शिव कोईराला, पिताम्बर तिम्सिना लगायतले जोड गरिरहेका थिए ।