झापा । ११औँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धुलाबारी माध्यमिक विद्यालय मेचीनगरले उचालेको छ । ९ अङ्क ल्याएका धुलाबारी यो उपाधिसँगै सातौँ पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि उचाल्न सफल भएको छ । उक्त प्रतियोगिताको उपाधि हात पारेसँगै धुलाबारी माविले शिल्डसहित प्रमाण पत्र पाएको छ । त्यस्तै ५ अङ्क ल्याएका जनता मावि अर्जुनधारा द्धितीय र ३ अङ्क ल्याएका विभूति विद्या मन्दिर भद्रपुर तृतीय भएका छन् ।
जिल्लास्तरीय प्रतियोगितामा समावेश भएका विभिन्न ६ वटा खेल विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिएको छ । विभिन्न खेल विधामा उत्कृष्ट हुने ७६ जना खेलाडीलाई मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको खेलकुद विकास समिति झापाका कार्यालय सचिव टहलदास मैनालीले जानकारी दिए । उनीहरूलाई कार्यक्रमका सभापति जिल्ला खेलकुद विकास समिति अध्यक्ष शङ्कर थापा, कोषाध्यक्ष धर्मराज सिवाकोटी, सदस्य पूर्णकुमार सिटौला, प्राडा पृथ्वीविक्रम राई, कराँते वरिष्ठ प्रशिक्षक कालु मेचेलगायतले पुरस्कृत गरेका हुन् ।
सो कार्यक्रममा खेल क्षेत्रको विकासका लागि योगदान पुर्याएबापत हल्दिबारी गाउँपालिका, मेची रङ्गशालाको निर्माणमा सक्रियतापूर्वक खटिएका ठेकेदार टोलिन राजवंशी र एथलेटिक्सको राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी खिनकुमारी बराललाई प्रशंसा पत्र प्रदान गरिएको छ । जिल्ला खेलकुद विकास समितिले गत शनिवारदेखि सञ्चालन गरेको प्रतियोगितामा स्थानीय तह स्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूले भाग लिएका थिए ।
भद्रपुरस्थित मेची रङ्गशालामा सञ्चालित प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । झापाका १५ वटा स्थानीय तहमा सम्पन्न भएका प्रतियोगितामा प्रथम स्थान हासिल गरेका टिम र खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका मावि तहसम्म अध्ययन गर्ने १८ वर्षमुनिका विद्यार्थीहरू सहभागी हुँदै आएका छन् । जिल्लास्तरीय छनौट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिम र खेलाडीले आउँदो २५ र २६ गते सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन् ।
प्रदेशस्तरीय छनौटमा उत्कृष्ट स्थान हासिल गर्ने टिम र खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । तीन दिवसीय सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गत शनिवार गरेका थिए । प्रतियोगिता उद्घाटनको अवसरमा खेल क्षेत्रमा अनवरत रूपमा योगदान पुर्याउँदै आएका विभिन्न खेल विधाका खेलाडी र प्रशिक्षकलाई नगदराशीसहित सम्मान गरिएको थियो । प्रतियोगिता उद्घाटनको सन्दर्भ पारेर जिल्ला खेलकुद विकास समितिले भानु साहित्यिक प्रतिष्ठान झापालाई अक्षय कोष स्थापनार्थ नगद ३ लाख रुपैयाँ प्रदान गरेको थियो ।
अक्षय कोषको ब्याज रकमबाट प्रत्येक वर्ष एक जना खेलाडीलाई सम्मान गर्ने गरी प्रदान गरिएको सो रकम प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले ग्रहण गरेका थिए । प्रतिष्ठानलाई प्रदान गरिएको उक्त रकम राखेपले निर्धारण गरेका मापदण्डका आधारमा देशभरका जिल्ला खेलकुद विकास समितिमध्ये उत्कृष्ट घोषणा हुँदै झापाले सम्मान स्वरूप प्राप्त गरेको हो ।
उद्घाटन समारोहका प्रमुख अतिथि पोर्तेल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले सो नगदराशी संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । उद्घाटनका क्रममा लिम्बू र सन्थाल जातीको सांस्कृतिक पहिचान झल्काउने झाँकी, सहभागी खेलाडीहरूबाट मार्चपास, जुडो तथा उसु खेल प्रदर्शन र भद्रपुरस्थित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका बटुकबाट स्वस्ती वाचन भएको थियो ।
प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छानिए
एक नम्बर प्रदेशस्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने झापा जिल्लाका खेलाडीहरू छनौट भएका छन् ।प्रतियोगितामा समावेश भएका खेलमध्ये कराँते विधामा महिला र पुरुष गरी ६ जना खेलाडी छनौट भएका छन् । निर्णायक संयोजक कालु मेचेका अनुसार विभिन्न तौल समूहमा प्रथम स्थान हासिल गर्ने खेलाडी छनौट भएका हुन् । छानिएकाहरूमा छात्रातर्फ ४० केजी तौल समूहमा ओशिष श्रेष्ठ, ४५ केजीमा श्रद्धा दर्लामी र ५० केजीमा इना लावती छन् ।
छात्रतर्फ ४२ केजी तौल समूहमा दिवस श्रेष्ठ, ४७ केजी तौल समूहमा अरुण लिम्बू र ५२ केजीमा कुशल रामदाम छन् । त्यस्तै, तेक्वान्दोको छात्रातर्फ ४२ केजी तौल समूहमा कुसुम लिम्बू, ४४ केजीमा सीमा बानियाँ र ४६ केजीमा पूजा तामाङ छानिएका छन् । निर्णायक संयोजक प्रदीप श्रेष्ठका अनुसार छात्रतर्फ ४५ केजी तौल समूहमा विवेक गिरी, ४८ केजीमा गोविन्द राई र ५१ केजीमा सजित बुढाथोकी छन् ।
एथलेटिक्सका निर्णायक संयोजक गोपाल यादवका अनुसार विभिन्न इभेन्टस्मा छात्रतर्फ सनम निङ्लेखु, अजय तामाङ, लाजेहाङ थेवे, राजेश राजवंशी, यामनाथ अधिकारी, राजीव ढुङ्गाना, लीलाबहादुर भित्रिकोटी, भूपेन्द्र राई, सुमन लावती, लक्ष्मण अधिकारी र बिराज बस्नेत जिल्ला छनौट भए । त्यस्तै, छात्रातर्फ कञ्चन विमली, सलिना तामाङ, मिनिला तामाङ, अञ्जली दर्जी, सन्ध्या शर्मा, प्राप्ति खरेल, कुसुम खतिवडा, भवानी कामती, सविना दर्जी, सविता टुडु र आशिका राजवंशी छानिए ।
कबड्डीको छात्रातर्फ अञ्जली साह, यूनिका लावती, सिमरम कालिकोटे, जानवी रञ्जितकार, रोमा ऋषिदेव, नुना हाङ्बो, सुष्मा बेगम, प्रिया कार्की, पूजा राजवंशी छानिएका निर्णायक संयोजक रतिया राजवंशीले बताए । छात्रतर्फ विवश थापा, बिवल थापा, दीपक राजवंशी, प्रकाश राजवंशी, केशव खरेल, सलमान मेचे, अमर मेचे, उद्धव बराइली र अजय ताजपुरीया छानिए ।
निर्णायक संयोजक हेमा थापाका अनुसार भलिबलको छात्रातर्फ झरना राजवंशी, कुमारी कुँवर, समिका सार्की, मनीषा चौधरी, नेगिसा गौतम, दीक्षा गौतम, कविसा खड्का, स्वस्तिका अधिकारी र ममता बस्नेत छानिए । छात्रातर्फ मुकेश भट्टराई, अभिषेक फागो, राज राई, राजन निरौला, दिनेश अघोरी, सुशील राई, अभि राजवंशी, पंकज साह र अनीश सुन्दास छानिए ।
निर्णायक संयोजक रविन श्रेष्ठका अनुसार उसुको छात्रतर्फ सिद्धार्थ प्रधान, रञ्जित चाम्लिङ राई र सुजन श्रेष्ठ छानिए भने छात्रातर्फ आशंसा श्रेष्ठ, रोशनी लिम्बू र रिया श्रेष्ठ छनौट भएका छन् ।