धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको दोस्रो चरणमा धरान फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । पहिलो चरणबाट सुपर सिक्स छनौट भएका टिमबीच शुक्रबारदेखि दोस्रो चरणको खेल सुरु भएको हो ।

उद्घाटन खेलमा बौद्धिक विकास समिति धनकुटालाई ३–२ गोलअन्तरमा पराजित गर्दै धरानले तीन अंक बटुलेको छ । धरानका लागि खेलको २०औँ मिनेटमा विनोद राईले गोल गरे । त्यस्तै दोर्जे तामाङले खेलको ८९औँ र उमेश राईले ९२औँ मिनेटमा गोल गरेर जीत सुनिश्चित गरे ।

धनकुटाका लागि भने रेवतराज भण्डारीले खेलको ६१औँ मिनेट र वीरेन लिम्बूले ९५औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच धरानका उमेश राई घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार पाए ।